काठमाडौं । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर केही दिनयता घट्दो क्रममा रहेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा चार लाख ६४ हजार छ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सङ्ख्या १६ करोड ७५ लाख दुई हजार छ सय २१ पुगेको छ ।
विश्वमा कोरोनामुक्त हुनेको सङ्ख्या पनि बढ्दै छ । जम्मा सङ्क्रमितको तुलनामा उपचाररतको अवस्था थोरै छ । गम्भीर अवस्थाका सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ ।
विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १४ करोड ८५ लाख ४७ हजार आठ सय ९३ जना निको भएका छन् । एक करोड ५४ लाख ७७ हजार एक सय ३५ जनाको उपचार भइरहेकोमा ९६ हजार नौ सय ९२ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा ५ लाख ९९ हजार ६९९ जना निको भएका छन् ।
विश्वमा पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ७० सङ्क्रमितको मृत्यु भएकोे छ । यसअघि दैनिक १२ हजारभन्दा बढीको मृत्यु हुने गरेकोमा त्यो सङ्ख्या क्रमस घट्दै गइरहेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ३४ लाख ७७ हजार पाँच सय ९३ जनाको मृत्यु भइसकेको छ ।








