उपत्यकाको निषेधाज्ञामा थप कडाइ, बैंक तथा वित्तीय संस्थामा एक चौथाइ कर्मचारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले आइतबारदेखि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाको आवागमनमा थप कडाइ गर्ने भएको छ।

कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञामा सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सहित जिल्ला सुरक्षा समितिको टोलीले शनिबार काठमाडौँका विभिन्न‍ स्थानमा स्थलगत निरीक्षण गरेर निषेधाज्ञा कार्यान्वनको अवस्था जानकारी लिएको थियो ।

त्यसपछिको बैठकले उक्त निषेधाज्ञा कडाइ गर्ने निर्णय गरेको हो । जस अनुसार काठमाडौं उपत्यका र ठूला सहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने निर्णय गरेको छ।

अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने निर्णय गर्दै सञ्चारकर्मीको आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ। पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने निर्णय गरेको छ ।

उपत्यका बाहिर निषेधाज्ञा लगाइएको जिल्लाका हकमा भने सूचना विभागको प्रेस पास नहुनेलाई प्रमुख जिल्ला अधिकारीले नै अर्को अस्थायी पासको व्‍यवस्था मिलाउन सक्ने भनिएको छ ।

सम्बन्धित शिर्षकहरु