कोरोना महामारीमा दक्षिण एशियामा मात्रै स्वास्थ्य सेवा नपाएर २ लाखभन्दा धेरै बालबालिकाको मृत्यु

काठमाडौं । काेराेना महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २ लाख ३९ हजारभन्दा धेरै आमा र शिशुको मृत्यु भएको संंयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदन अफगानिस्तान, नेपाल, बाङ्ग्लादेश, भारत, पाकिस्तान र श्रीलङ्कामा केन्द्रित छ । प्रतिवेदनले यी छ देशमा थप २ लाख २८ हजार पाँच वर्षमुनिका बालबालिकाको मृत्यु पोषणदेखि खोपसम्मका अत्यावश्यक सेवा रोकिएका कारणले भएको देखाको छ ।

प्रतिवेदनले कोभिडका कारण स्वास्थ्य सेवामा परेको प्रभावले सबैभन्दा ठूलो असर महिला, बालबालिका र किशोरकिशोरीलाई परेको बताएको छ। दक्षिण एशियामा अहिलेसम्म एक करोड ३० लाख मानिसमा कोभिड देखिएको र १ लाख ८६ हजारको ज्यान गएको छ ।

डाइरेक्ट एन्ड एनडाइरेक्ट एफेक्ट्स अफ कोभिड–१९ प्यानडेमिक एन्ड रेस्पोन्स इन साउथ एशिया नामक प्रतिवेदनका अनुसार महामारीमा चालिएको सरकारी रणनीतिले स्वास्थ्य सेवा, शिक्षालगायत सामाजिक सेवा र अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गरिएको छ।

नेपाल र बाङ्ग्लादेशमा अति कुपोषणको उपचार गराइरहेको बालबालिकाको सङ्ख्यामा ८० प्रतिशतले कमी आएको जनाइएको छ । प्रतिवेदनमा चार लाख किशोरीसहित ३५ लाख महिलाहरू परिवार नियोजनका साधनमा पहुँच नपुगेका कारण गर्भवती हुनुपरेको बताइएको छ। बीबीसीबाट ।

सम्बन्धित शिर्षकहरु