कोरोनाका बीच नयाँ उद्योग खुल्ने क्रम बढ्दै, ६ महिनामा १०३ उद्योग दर्ता

काठमाडौं । कोरोनाका कारण थलिएका उद्योग,कलकारखाना खुल्ने क्रममा रहेका बेला नयाँ उद्योग दर्ता हुने क्रम भने रोकिएको छैन ।

कोरोनाले विश्वभर नै औद्योगिक क्रियाकलाप सुस्त भइरहेका चालू आवको पुस मसान्तसम्म १०३ उद्योग सञ्चालनका लागि दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा १०३ नयाँ उद्योग दर्ता भएका छन् ।

ती उद्योग संचालन गर्न कुल ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने उद्योगीहरुले प्रतिबद्धता जनाएका छन् । यी उद्योग संचालनमा आएपछि ६ हजार २८८ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागले जनाएको छ ।

यस अवधिमा सबैभन्दा धेरै सेवामूलक क्षेत्रमा २३ वटा नयाँ उद्योग दर्ता भएका छन् । यी उद्योग संचालनमा ल्याउन ६ अर्ब ५१ करोड रुपैयाँ लगानी हुने भएको छ ।

यस्तै, कृषि क्षेत्रमा १३ उद्योगमा ३ अर्ब, ऊर्जा क्षेत्रमा १३ आयोजनामा ५३ अर्ब ६३ करोड, सूचना प्रविधि क्षेत्रका ५ उद्योगमा ६५ करोड, पूर्वाधारतर्फ १ अर्ब ५७ करोड लगानीमा एउटा उद्योग दर्ता भएको छ ।

कोरोनाले गर्दा समस्या देखिए पनि पछिल्लो समय लगानी कर्ताको आक्रषण बढ्दै गएको छ । यसले कोभिडबाट भएको क्षतिलाई उठाउन ठूलो सहयोग गर्नेछ आंकलन गरिएको छ । यस्तै, पुस मसान्तसम्ममा सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रका उद्योग दर्ता भएका छन् ।

यी उद्योग संचालनमा ल्याउन ६ अर्ब ५१ करोड लगानी हुने विभागले जनाएको छ । यस अवधिमा खनिज उत्खनन् तथा अनुसन्धानका लागि १२ करोड दलगानीको एउटा र पर्यटन क्षेत्रमा ३ अर्ब ३६ करोड लगानी गर्ने गरी १९ उद्योग दर्ता भएका उद्योग विभागको तथ्यांकले देखाएको छ ।

चालू आवमा सबैभन्दा धेरै असोज र साउनमा समान २६/२६ उद्योग दर्ता भएका छन् । असोजमा कृषि, ऊर्जा र उत्पादनमूलक क्षेत्रमा समान ४/४ वटा उद्योग दर्ता भएका थिए भने सूचना प्रविधिमा ३, सेवामूलकमा ५ र पर्यटन क्षेत्रमा ६ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगहरु १८ अर्ब ७३ करोड रुपैयाँ लगानीमा संचालनमा आउने भएका हुन् ।

यस्तै, साउनमा ३४ अर्ब ६६ करोड लगानीमा २६ नयाँ उद्योग दर्ता भएका थिए । जसमा कृषितर्फ १, ऊर्जातर्फ ५, उत्पादनतर्फ ६, सेवामूलकतर्फ १० र पर्यटनतर्फ ४ उद्योग दर्ता भएका थिए ।

भदौमा जम्मा ७ नयाँ उद्योग दर्ता भएका थिए । उक्त उद्योगहरु ८ अर्ब ९७ करोड रुपैयाँ लगानीमा सचालनमा ल्याउने गरी दर्ता भएका हुन् । सो महिना कृषिमा १, उर्जामा २, उत्पादनमा १ र पर्यटनतर्फ ३ नयाँ उद्योग दर्ता भएका थिए ।

यस्तै, कार्तिक महिनामा २२ उद्योग दर्ता भएका थिए । तीे उद्योगहरु ४ अर्ब १९ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याउने तयारी छ । कृषितर्फ ४, ऊर्जातर्फ १, सूचना प्रविधितर्फ १, उत्पादनतर्फ ९ सेवा मूलकतर्फ ५ र पर्यटनतर्फ २ गरी २२ वटा मात्र उद्योग दर्ता भएका हुन् ।

मंसिर महिनामा ९ उद्योग दर्ता भएका छन् । ती उद्योग २ अर्ब ७९ करोड रुपैयाँ लगानीमा सञ्चालनका लागि दर्ता भएका हुन् । सो महिना कृषिमा १, उर्जामा १, उत्पादनमा ३, सेवामूलकमा र पर्यटनमा २/२ वटा गरी ९ उद्योग दर्ता भएका छन् ।

पुस महिनामा ३ अर्ब २६ करोड रुपैयाँ लगानीका १३ नयाँ उद्योग दर्ता भएका छन् । यस महिना कृषि क्षेत्रमा २, उत्पादनमूलक क्षेत्रमा ५, पर्यटन क्षेत्रमा २, सूचना तथा प्रविधि, पूर्वाधार, खनिज र सेवामूलक क्षेत्रमा समान १/१ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

सम्बन्धित शिर्षकहरु