दोरम्बा र माडी घटनाका दोषीलाई कारबाही हुने

1876Surya-Kiranसिन्धुली । सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका र गैरन्यायिक घटनाका दोषीले कुनै हालतमा पनि उन्मुक्ति नपाउने बताएका छन्।

सिन्धुलीमाढीमा शनिबार पत्रकारसँग गुरुङले भने, ‘गम्भीर प्रकारका अपराधमा संलग्नलाई क्षमादान दिए फेरि द्वन्द्व सिर्जना हुन्छ, गम्भीर घटनामा संलग्नलाई उन्मुक्ति दिनु हुँदैन ।’

मानवअधिकारका विश्वव्यापी मान्यता तथा सन् २०१२ मा अन्तर्राष्ट्रिय रेडक्रसले संयुक्त राष्ट्रसंघमा पेस गरेको नेपालको द्वन्द्वकालीन प्रतिवेदनका आधारमा काम गर्ने भएकाले त्यस्ता घटनामा संलग्नलाई कुनै हालतमा क्षमादान नहुने उनको भनाइ थियो ।

माडी घटना स्मृति दिवसको पूर्वसन्ध्यामा उनले भने, ‘द्वन्द्वका घटनालाई आयोगले वर्गीकरण गरेर छनबिन गर्छ। आयोगले दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने भएकाले द्वन्द्व र युद्धको नियम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही हुन्छ।’ उनले बलात्कार, यौनजन्य हिंसालगायतका गम्भीर प्रकारका र गैरन्यायिक घटनाका दोषीलाई माफी दिनै नसकिने बताए।

अध्यक्ष गुरुङले रामेछापको दोरम्बा घटनामा संलग्न राज्यपक्ष, चितवनको माडी घटनामा संलग्न तत्कालीन विद्रोही पक्ष र नवलपरासीको द्वन्द्वकालीन घटनामा संलग्नले कुनै पनि हालतमा उन्मुक्ति नपाउने प्रस्ट पारे। ‘मैले तीनवटै घटनाको स्थलगत अध्ययन गरेको छु ।’
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ   ।

सम्बन्धित शिर्षकहरु