वित्तीय शिक्षा, उद्यमशिलता र श्रेष्ठता – The Best Teacher Academy

संसारमा रोजगारी प्राय सबै देशको समस्या हो । धेरै देशहरुले रोजगारीको समस्याको समाधानको लागि
स्वरोजगार कार्यक्रमलाई जोडतोडले लागु गर्न खोजेको पनि देखिन्छ तर पनि समस्या ज्युकात्यू नै देखिन्छ ।
रोजगारी र स्वरोजगारीका बहसहरु चल्दै गर्दा उद्यमशिलता र व्यवसायका बारेमा पनि उत्तिकै रुपमा
परिचर्चा हुने गर्दछन् । आमरुपमा ठूलो समस्या रोजगारी, स्वरोजगारी, उद्यमशिलता, व्यवसायको अवसर तथा
अनुकुलताको भन्दा पनि अवधारणाको हो भने लेखकको बुझाई रहेको छ । छोटोमा स्वरोजगारी, उद्यमशिलता
तथा व्यवसायको बारेमा अवधारणागत प्रष्टता ल्याउने उद्देश्यले तल परिचर्चा गरिएको छ ।
स्वरोजगार, उद्यमशिलता र व्यवसाय
स्वरोजगार :-
आफ्नो लागि आफ्नै इच्छा अनुसार स्वतन्त्र रुपमा काम गर्नु स्वरोजगार हो । स्वरोजगारको लक्ष्य आफ्नो विशिष्ट पेशा तथा क्षेत्रमा उत्कृष्ट हुने रहन्छ । स्वरोजगारलाई अंग्रेजीमा Self Employed or Freelancer भनिन्छ । स्वरोजगारको स्वतन्त्रता आफ्नो पेशा तथा ठेगानाको रोजाइमा जति रहन्छ, त्यति समय र अर्थको बिषयमा भने रहदैन । स्वरोजगार कोहि कसैको मातहतमा वा निर्देशनमा नरहने भएता पनि आफ्नै आवश्यकताको बन्धनमा बाँधिएको हुन्छ । अपवाद बाहेक स्वरोजगारले समय र आर्थिक स्वतन्त्रता हासिल गरेको हुँदैन । जब काम गर्दैन, उसको आम्दानी हुँदैन। अझ आम रुपमा स्वरोजगारले सार्वजनिक छुट्टी तथा अन्य चाडपर्वका छुट्टी समेत उपभोग गर्न नपाइरहेको हामीले देख्न सक्छौं । तसर्थ स्वरोजगार स्वतन्त्रता हो भन्ने गलत बुझाईको कारण मानिसहरु स्वरोजगार हुन चाहन्छन र मानसिक रोगको सिकार हुने गरेका छन् । फेरी स्वरोजगारलाई नकारात्मक रुपले बुझ्नु पनि हुँदैन । स्वरोजगारको लक्ष्य उद्यमशिलता र व्यवसाय सम्म पुग्ने रहन्छ भने यसलाई सही दिशामा अगाडी बढेको मान्न सकिन्छ । जुन स्वतन्त्रता व्यक्तिले चाहेको हुन्छ, त्यो एउटा उद्यमी वा व्यवसायी बने पछि मात्र हासिल गर्न सक्दछ । तसर्थ स्वरोजगारलाई अन्तिम होइन कि प्रस्थान बिन्दु बनाएर कर्म गर्न सकियो भने जीवन सोचे जस्तो सहज र सफल हुनेछ ।
स्वरोजगार कर्म तथा पेशाका केही उदाहरणहरु निम्न प्रकार छन् ।
वकिल तथा ल फर्म
डाक्टर तथा क्लिनिक
किराना पसले तथा सुपरमार्केट मालिक
रेस्टुरेन्ट मालिक
कृषक
कलिगढ़
पशुपालक आदि
उद्यमशिलता :-
नयाँ नयाँ विधि, प्रविधि, विचार, नवाचार, कला, रचना र सिर्जना सहितको व्यवसायलाई उद्यमशिलता भनिन्छ । उद्यमशिलताको लक्ष्य केवल नाफा कमाउनु मात्र नभई समस्याको समाधान दिनु रहन्छ । वास्तवमा भन्ने हो भने उद्यमशिलता दाहिने मस्तिष्कको प्रतिफल हो । कसैको यसै जन्मको पुरुषार्थले त कसैको पुर्व जन्मको पुरुषार्थले गर्दा दाहिने मस्तिष्क प्रयोगमा ल्याउन सफल भएको मानिन्छ । संसारमा आज जे जति नयाँ व्यवसायहरु स्थापित भएका छन् ति सबै उधमीहरुको मस्तिष्कको कमाल हो, जस्तै अमाजोन, एप्पल, अलिबाबा, टुटल र पठाओ, उबर आदि । उद्यमशिलतामा जोखिम तथा पुरस्कारको अनुपात बढी हुन्छ । नयाँ अभ्यास भएको कारणले उद्यमशिलतामा अन्यको तुलनामा बढी नाफा तथा घाटाको जोखिम रहन्छ ।
 
उद्यमी लिडर प्रवृतिका हुन्छन् र ग्राहकमुखी हुन्छन् । आफ्नो सिर्जना भएको कारणले एउटा बिन्दु सम्म उद्यमी
आफ्नो व्यवसयालाई आफ्नै नेतृत्वमा अघि बढाउन चाहन्छन् किनकि अन्य व्यक्तिको लागि उक्त काम नयाँ
हुनेछ र सहि ढंगले व्यवस्थापन गर्न नसक्ने हुनसक्छ । उद्यमी वास्तवमा ग्राहकमुखी तथा सेवामुखी हुने हुनाले
नाफा तथा घाटाको त्यति प्रवाह गर्दैनन् उनीहरु लगातार आफ्नो लक्ष्यमा अघि बढिरहेका हुन्छन् । उद्यमीको
प्रतिस्पर्धा बजारमा कम हुन्छ किनकि उसको कर्म विल्कुल फरक र नयाँ हुन्छ । आफ्नो सिर्जना र नवाचारको
प्रयोग भएको हुनाले एउटा उद्यमीले लामो समय संघर्ष गरेको हुन्छ यदि प्रयोग सफल भयो भने ऊ अत्याधिक
सफल व्यवसायी बन्छ यदि प्रयोग सफल भएन भने बर्षौंको मेहनत तथा लगानी खेर जान सक्छ ।
उद्यमी बन्नु सबैको बसको कुरा होइन नै,जसले उद्यमशिलतालाई अवलम्बन गर्न सक्छ उसले समाज, देश र
सम्पूर्ण विश्वलाई मार्गदर्शन पनि गर्न सक्छ ।
 
व्यवसाय :-
विद्यमान विधि, प्रविधि, विचार, कला, रचना, सिर्जना सहित गरिएको कर्म व्यवसाय हो । व्यवसायको
लक्ष्य केवल नाफा कमाउनु रहन्छ । विद्यमान पद्दति भित्रै रहेर व्यापार गरिने हुनाले व्यवसायमा नाफा तथा
जोखिमको अनुपात कम रहन्छ । स्वरोजगारको गति, आयातन तथा परिमाण वृद्धि भए पछि व्यवसाय हुन जाने
भएको हुनाले व्यवसायलाई स्वरोजगारको विकसित रुप पनि मान्न सकिन्छ । व्यवसायमा सामान्यतया मालिक
आफै उपस्थित भएर दैनिक क्रियाकलाप गर्नु पर्ने हुँदैन बरु व्यवसायमा धेरै कर्मचारी वा सेवक द्वारा गरिएको
कर्मको प्रतिफल मालिक सम्म पुग्दछ । विशेषगरी व्यवसायमा पद्दति (सिस्टम) ले काम गर्दछ ।
 
कुनै पनि कारोवार वा व्यापारमा दैनिक कम्तिमा पाच (५) हजार घण्टा काम हुन्छ भने त्यो व्यवसाय हुन जान्छ जहाँ
आफ्नो प्रत्यक्ष सहभागिता बिना नै आम्दानी हुने हुनाले एकै व्यक्ति धेरै व्यवसायमा अनुबन्धित भएको हामीले
देख्न सक्छौं । व्यवसायको आम्दानीलाई निष्क्रिय आम्दानी मानिन्छ । संसारमा धन कमाउने, धनी हुनेहरु प्राय:
व्यवसाय गरेकाहरु छन् । व्यवसायका केही सामान्य बिशेषताहरु निम्न प्रकार छन् ।
१. व्यवसायमा नयाँ method प्रयोग हुदैनन् अथवा व्यवसायले नयाँ कुरामा विश्वास गर्दैन ।
२. व्यवसायको मुख्य उद्देश्य बजारमा प्रतिस्पर्धीलाई जित्नु र नाफा कमाउनु रहेको हुन्छ ।
३. व्यवसायले लिडर होइन कि मालिक (बोस) प्रवृति उत्पादन गर्दछ ।
४. व्यवसाय सेफ प्ले गर्दछ र नाफा केन्द्रित हुन्छ ।
 
नेपालका केही सफल व्यवसायका उदाहरणहरु निम्न प्रकार छन् :-
१. चौधरी ग्रुप
२. गोल्छा
३. बाजेको सेकुवा
४. भाट भटेनी आदि
समाजमा, देशमा तथा दुनियाँमा प्रमुख रुपमा समस्या भनेको गलत बुझाई नै हो, एउटा स्वरोजगारले म व्यवसाय
गर्दै छु भन्ने सोच्ने, एउटा उद्यमीले मैले पनि व्यवसाय संचालन गर्दैछु भन्ने सोच्ने तर वास्तवमा व्यवसाय के हो ?
भनेर पत्तो नपाउने कारणले आम मानिस स्वरोजगार कर्मबाट लाभान्वित हुन सकेको छैन । स्वरोजगार,
उद्यमशीलता र व्यवसायका आफ्ना आफ्नै विशिष्ट विशेषता छन् तर सबै एकै हुन भनेर बुझ्नु गलत हुन्छ ।
तसर्थ वित्तीय शिक्षाको ज्ञान द्वारा नै व्यक्तिमा साँचो रुपमा परिवर्तन ल्याउन सकिने हुनाले अबको सिकाई,
शिक्षण तथा प्रशिक्षणमा प्रयोगात्मक र व्यावहारिक वित्तीय शिक्षामा हामी सबैको योगदान हुन जरुरी देखिन्छ ।
(लेखक अर्जुन शर्मा द बेस्ट टिचर एकाडेमीका प्रमुख हुनुहुन्छ | उहाँको बारेमा थप जानाकारी चाहिएमा https://www.youtube.com/watch?v=1CNu8iJsqu4 हेर्न सक्नुहुनेछ |) 

सम्बन्धित शिर्षकहरु