सकारात्मक विचारले बदललिनेछ तपाईको जिन्दगी, जति संघर्ष त्यति नै जीत शानदार…

काठमाडौं । मानिस यस्तो प्राणी हो जसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ । मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ ।

त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ । भनिन्छ– “सकारात्क सोच नै मानिसको जीवनको उर्जा हो । बन्दूकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुना बढी शक्ति हुन्छ ।”

हरेक व्यक्तिको यस्ता शक्तियुक्त सकारात्मक सोचलाई सही ठाउँमा, सही समयमा, सही तरिकाले प्रयोग गर्न सकियो भने जीवन र जगतको स्वरुप नै अकल्पनीय सुन्दर बन्दछ ।

तर बिडम्बना हामी सकारात्मक सोचप्रति दिनप्रतिदिन गरिब हुँदै गइरहेका छौँ । नकारात्मक सोचले भने हामी निकै भरिपूर्ण छौँ । यही कारण हाम्रो देशले आसातीत प्रगति गर्न सकिरहेको छैन । तर यसको अर्थ यो पनि होइन कि हाम्रो देशमा केही पनि भएको छैन ।

मानिसको सकारात्मक सोचले कति उपलब्धि हासिल गर्छ भन्ने कुरा केही सकारात्मक सोचकर्ताहरुको भनाइले पुष्टि गर्दछ ।

जोसँग सकारात्मक सोच छ । ऊ नै सफलताको शिखर चुम्दछ । जोसँग सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष दिएर टाउकोमा हात लाएर दिन गुजार्छ ।

एउटै विद्यालयमा एउटै कक्षामा पढेका सकारात्मक सोच भएका विद्यार्थीहरु भविष्यमा नेतृत्वको चुलीमा पुगेका र नकारात्मक सोच भएकाहरु परिवारको भार बनेका उदाहरण हाम्रै वरिपरि बग्रेल्ती छन् । खेलहरुमा पनि खेलाडीलाई सकारात्मक हौसला दिँदा सोचेभन्दा राम्रो परिणाम ल्याएका उदाहरण प्रसस्तै छन् ।

व्यापार व्यवसायमा त झन् सकारात्मक सोचको ज्यादै महत्व छ । जति सकारात्मक सोच उति उच्च आर्थिक प्रगति हुन्छ । नकारात्मक सोच भएका व्यक्तिभन्दा सकारात्मक सोच भएका व्यक्तिहरु कयौँ गुणा छिटो आफ्नो लक्षित गन्तव्यमा पुग्दछन्

हरेक कुरालाई सकारात्क नजरले हेर्नु नै सकारात्मक सोच हो । सकारात्मक सोचले हरेक व्यक्तिमा क्षमता र उर्जा सिर्जना गर्दछ । त्यसैले आजकल सकारात्मक सोच सम्बन्धी तालिमहरु सञ्चालन गरिन्छन् । मानिसको स्वाभिमानमा वृद्धि, नेतृत्वको विकास, व्यवसायमा वृद्धि, संगठनको प्रगति सबै सकारात्मक सोचका उपज हुन् ।

सफलताको मूल सूत्र नै सकारात्मक सोच हो । त्यसैले सफलताको लागि सकारात्मक कुरा खोज्नु आवश्यक छ । जीवनका बाटाहरुमा समस्या देखे समस्या नै समस्याको पहाड भेटिन्छ । समाधान र सफलता देखे जताततै सफलता नै सफलता हात लाग्छ ।

हरेक व्यक्तिको सफलता अरुको हातमा छैन, आफ्नै मनमष्तिष्कमा छ । मात्र मन र मष्तिष्क सकारात्मक हुुनुपर्छ । सकारात्मक सोच कसैबाट मागेर लिनुपर्दैन, न त यसलाई पैसा हालेर किन्नु नै पर्छ । यो त जति सकारात्मक सोच्दै गइन्छ त्यति नै बढ्रदै जान्छ ।

दिन दोगुना, रात चौगुना । सकारात्मक सोचको मुहान हामी आफैँ हौँ । मात्र आफैँ । त्यसैले हरेक व्यक्तिले आफूलाई सकारात्मक सोचको महान् समुन्द्र बनाउँ ।

नेपाली समाजमा हिजोआज जतासुकै पनि नकारात्मक कुरा मात्र देख्न र सुन्न पाइन्छ । कहीँ कतै समूहमा बसेर छलफल गरिरहेका मानिस हुन् वा दुईजनाबीचको कुराकानीमा होस्, संचार माध्यममा होस् वा अन्य क्षेत्रमा होस्, सबैतिर केवल नकारात्मक कुराकै चर्चा बढी हुने गरेको छ ।

यस्तो भएन, त्यस्तो भएन भन्ने गुनासा, असन्तुष्टि एवं निराशाले वातावरणलाई दूषित तुल्याएको छ । यसरी वातावरण नै दूषित भएपछि मानिसको मनस्थितिमा समेत स्वाभाविक तवरले नकारात्मक असर पर्छ ।

समाज नकारात्मक सोचको शिकार बन्दै गइरहेको छ भने त्यो समाजभित्रका पात्र हामी चाहिँ सकारात्मक कसरी हुन सकौँला ? समाज नकारात्मक सोचले अगाडि बढ्दैन भन्ने थाहा छ, तर पनि नकारात्मक विचारको ओइरो छ ।

नकारात्मक भावनाको विकास हुनुमा केही मात्रामा नेपालको संक्रमणकालीन राजनीतिक अवस्था जिम्मेवार भए पनि सम्पूर्ण दोष यसैमाथि थुपारेर पन्छिन मिल्दैन ।

जिम्मेवार नागरिकले अरूलाई दोष दिनुभन्दा आप्mनो तर्फबाट के गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यसो भयो भने केही मात्रामै भए पनि सकारात्मक वातावरण सिर्जना हुन्छ । समाजमा विद्यमान सकारात्मक कुराको खोजी एवं पहिचान गरेर सकारात्मक विचार अपनाउनु नै आजको आवश्यकता हो ।

ध्यान सकारात्मक सोचको सबैभन्दा ठूलो मुहान हो । ध्यान गर्दा सबैभन्दा बढी सकारात्मक विचारहरु आउने गर्छ । ध्यान गर्दा आफूमा भएको सबै नकारात्मक विचारहरुलाई मन र दिमागबाट निकाल्दै सकारात्मक विचारहरु सोच्न सक्छौं । एउटा शान्त ठाउँमा बसेर आँखा चिम्लेर विस्तारै विस्तारै श्वास फेर्नुस् र मनमा भएका नराम्रा विचारहरु विस्तारै विस्तारै श्वाससँगै बाहिर फाल्नुस् । राम्रा विचारहरु श्वाससँगै मन भित्र हाल्नुस् । आहा ! यो आनन्द अकल्पनीय छ ।

 

सम्बन्धित शिर्षकहरु