अष्ट्रेलिया । अष्ट्रेलिया तीन दशक यता पहिलो पटक आर्थिक मन्दीको स्थितिमा पुगेको छ। अष्ट्रेलियन तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा अष्ट्रेलियाको कुल ग्राहस्थ उत्पादन जिडिपी ऐतिहासिक रुपमा ओरालो लागेको देखिएको हो।
पछिल्लो आँकडा अनुसार देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) ६.३ प्रतिशत ओरालो लागेको छ।
जुन महिनासम्मको पछिल्लो त्रैमासिक विवरणअनुसार ६. ३ प्रतिशतले आर्थिक ह्रास भएको पाइएको हो।
जिडिपी चौमासिक अर्थात तीन महिना भित्र देशमा उत्पादित वस्तु र सेवाहरुको आधारमा मापन गरिन्छ।
अष्ट्रेलियाको जिडिपी यति धेरै प्रतिशतले ओरालो लागेको यो ऐतिहासिक रेकर्ड हो। जसअनुसार, अष्ट्रेलिया २९ वर्ष देखि यता पहिलो पटक आर्थिक मन्दीको स्थितिमा पुगेको छ।
कोरोना भाइरस संक्रमण तथा लकडाउनले निम्त्याएको यस आर्थिक मन्दीका कारण बेरोजगारी दर अझ बढ्ने बताइएको छ।
विज्ञहरुका अनुसार, यसले गर्दा ज्याला तथा तलबमा पनि कमी आउन सक्नेछ। बेरोजगारी दर बढेपछि एउटै कामको लागि धेरै दक्ष व्यक्तिहरु आवेदन दिनेछन्। जसले गर्दा रोजगारदातासंग कामदार रोज्ने धेरै विकल्प हुनेछन् र ज्याला तथा तलबमा पनि कमी आउन थाल्नेछ।








