थप पाँच कोरोना संक्रमितको मृत्‍यु, मृतकको संख्या ६३ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालका विभिन्न जिल्लामा गरी एकैदिन पाँच जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट पर्सा र मोरङमा दुई-दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप संख्यासँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो ।

वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ बर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

यस्तै १९ गते मृत्यु भएकी पर्साको पोखरिया नगरपालिका-९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमाण पुष्टि भएको छ ।

मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार रंगेली नगरपालिका-८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

कोरोनासँग मिल्ने लक्षण भएकाले स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ ।

यस्तै काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड-१९ को संक्रमितको पनि मृत्यु भएको छ ।

सर्लाही-६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो ।

सम्बन्धित शिर्षकहरु