काठमाण्डौ । रुसी सरकारले अबको तीन महिनाभित्र आफ्ना नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिने भएको छ ।
रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोका अनुसार अक्टोबर महिनामा कोरोना विरुद्धको खोप दिने तयारी भइरहेको छ भने झण्डै २० वटा खोपको प्रयोगशालामा परीक्षण सुरु भइसकेको छ ।
पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप दिने योजना भएको उनले जानकारी दिए ।
अगस्टमा नियामक निकायबाट खोपको लागि स्वीकृति मिल्ने भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
अहिले विश्वका विभिन्न देशमा कोरोना भाइरस विरुद्धको खोप बनाउने काम तीव्र गतिमा भइरहेको छ ।
कोरोना सङ्क्रमित धेरै भएका देशमा रुस चौथो स्थानमा छ । रुसमा अहिलेसम्म ८ लाख ४५ हजारमा कोरोना पुष्टि भएको छ भने १४ हजार जनाको ज्यान गएको छ ।
विश्वभर एक करोड ७९ लाखमा कोरोना सङ्क्रमित मध्ये एक करोड १३ लाख निको भएका छन् । त्यस्तै ६ लाख ८७ हजारको भने ज्यान गएको छ ।








