विराटनगर । मोरङ प्रहरीले विश्वमा अत्याधिक महँगो पर्ने लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पहिलो पटक बरामद गरेको यो लागुऔषध दुव्र्यसनीले धेरै रुचाउने र उच्च गुणस्तरको रहेको मानिन्छ ।
पोखरेलका अनुसार यो एक प्रकारको मेथान्टामाइन आइस नामक केमिकल ड्रग्स हो ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलले उच्च गुणस्तरको लागुऔषधसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेललाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीका अनुसार बिक्री गर्ने तयारीमा रहेको पाँच सय ३० ग्राम ९३ मिलिग्राम (आधा किलोग्राम भन्दा बढी) लागुऔषध पनि बरामद गरिएको हो ।
विशेष सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लागुऔषध कारोबारी पोखरेललाई पक्राउ गर्नका लागि लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली परिचालन गरेका थिए ।
कोही व्यक्तिलाई लागुऔषध पुर्याउन आउँदै गर्दा उनलाई प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बेला पोखरेलको साथबाट दुई सय ग्राम २२ मिलिग्राम लागुऔषध बरामद भएको थियो ।
प्रहरीले सुन्दरहरैंचाको सलकपुरस्थित उनको घरमा छापा हानेर मंगलबार साँझ अरु लागुऔषध बरामद गरेको थियो ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
नयाँ प्रकृतिको र उच्च गुणस्तरको लागुऔषधका कारोबारी पोखरेल उच्च घरनाका र उद्योग व्यवसायी रहेका प्रहरीले बताएको छ ।
एसपी पोखरेलले उच्च गुणस्तरको लागुऔषध र यसका कारोबारी पक्राउ परेको प्रदेश १ कै पहिलो घटना भएको जानकारी दिए ।
‘यही प्रकृतिको लागुऔषध बरामद भएको र कारोबारी पक्राउ परेको यस अघि कुनै घटना प्रदेशमा छैन,’ उनले भने, ‘यस घटनाले दुव्र्यसनीले सबैभन्दा बढी रुचाएको र अत्याधिक महँगो लागुऔषधको कारोबार यहाँ पनि हुन थालेको पुुष्टि भएको छ ।’
उच्च गुणस्तरको महँगो यो लागुऔषधको नेपालमा तस्करी एकदमनै कम मात्रामा र बेलाबेलामा हुने गरेको प्रहरी बताउँछन् ।
मेथान्टामाइन आइस नामक केमिकल ड्रग्स लागुऔषध हो भन्ने कुरा केही अघि जापानको एउटा प्रयोगशालाबाट पत्ता लागेको प्रहरी स्रोतको भनाइ छ ।
यसको अन्तर्राष्ट्रिय मूल्य प्रति ग्राम ८० डलरभन्दा बढी रहेको र तस्करी हुँदै नेपालसम्म आइपुग्दा प्रति किलो तीन करोड रुपैयाँसम्म पर्ने दाबी प्रहरीले गरेको छ ।
नेपालमा पनि नेटवर्क बनाएर उनले कारोबार थालेको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।








