कुण्डलिनी योगको महत्व र शक्ति साधना, कसरी हुन्छ कुण्डलिनी शक्ति जागृत ?

काठमाडौं । व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो ।

यस्तो योग आसन, प्राणायाम, मुद्रा र षट्कर्म एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ ।साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ ।

हाम्रा ऋषिमुनीहरुले कुण्डलिनी शक्ति जागृत गर्ने केही विधीहरु सिकाएका थिए । यसमा राजयोग, हठयोग, मन्त्र योग, भक्ति योग, कर्म योग, शिद्धी योग, लय योग आदि छन् ।

५ मिनेटमै दिनभरिको ताजगिदिने कुण्डलिनि ध्यान

कुण्डलिनी योगको महत्व र शक्ति साधना

शक्ति साधना, उपासनाको इतिहास भारतबर्षको उत्पत्तिसँगसँगै भएको मानिन्छ । अर्थात् यो प्राग्ऐतिहासिक सिन्धुघाटी सभ्यता, मोहनजोदारो, हडत्पा आदिकाल जत्तिकै पुरानो छ भनौ लगभग ईसापूर्व २ सय बर्षभन्दा अगाडी बुझिन्छ ।

शुरुदेखि नै प्राकृतिलाई मातृरुप मानेर शक्तिसाधना गरिदै आएको र कालान्तरमा शिवको रुपमा एउटा महापुरुषको कल्पना गरियो ।

इस्वी सम्वत् १,२०० सम्म आइपुग्दा तन्त्र — मन्त्र — यन्त्र मात्र नभई शिव र शक्तिको विविध स्वरुपमा आराधना, उपासना गर्न थालिएको पाईन्छ भने यसै समयमा कुण्डलिनी योगको महत्व र विकासमा वृद्धि भएको पाईन्छ । यसै क्रममा चरमरुपमा पंचमकार उपासनाको प्रभाव समेत वृद्धि भएको पाईन्छ ।

शक्ति मतबाट प्रादुर्भाव भएको कौल मत, जसले आफै अद्धैतवादको मतावलम्वी हुँदाहँुदै पनि शिव र शक्तिलाई समान महत्व दिन्छ अर्थात् प्रकृति र पुरुषलाई एक मान्दछ ।

यसको प्रतीमात्मक रुप षट्कोण हो भने उध्र्वत्रिकोण शिव र अधोत्रिकोण शक्तिको प्रतिक मानिन्छ । कौल शब्द नै कुल शब्दबाट बनेको हो जसको अर्थ कुण्डलिनी शक्ति हो जुन योगतान्त्रिक साधनाको आधार हो ।

कुण्डलिनी शक्तिलाई आदिशक्ति मानिएको छ । जुन प्रकारले मेशिनमा क्वाइल्स हुन्छन्, जसको माध्यमबाट विद्युतधाराहरू गुज्रन्छन र ती क्वाइल्सहरू सुनिश्चित क्षेत्रमा सुनिश्चित कार्य गर्दछन ।

त्यसै प्रकारले हाम्रो शरीरमा मेरुदण्डको माध्यबाट गएको सुषुम्नानाडीमा जुन क्वाइल्स अर्थात कुण्डल छन्, त्यसमा प्रवाहित भएको जीवन शक्तिलाई नै कुण्डलिनी शक्ति (Serpent Power) भनिन्छ ।

कुण्डलिनी शक्ति मातृगर्भमा रहँदा जागृत हुन्छ । वालाअवस्थामा निन्द्रित रहन्छ । मानिसको जाग्रत अवस्थामा भने यो शक्ति सुषुप्त हुन्छ । स्वप्न अवस्था, सुषुप्ति अवस्थामा तन्द्रित रहन्छ ।

जाग्रत कुण्डलिनी शक्ति सुषुप्ना मार्गबाट षट्चक्रलाई भेदन गरेर शिवसँग गएर मिल्दछ । आदी जगद्गुरु शंकराचार्यले आन्नद लहरीमा यसको वर्णन गर्नुभएको छ ।

कुण्डलिनी शक्ति नै जीवात्माको प्राणस्वरुप हो । कुण्डलिनी शक्ति ब्रह्मद्धारलाई छेकेर सुखपूर्वक सुतेको छ । त्यसैले जीवात्मा षड्रिपु र इन्द्रिगणद्धारा चालित भएर अहम्भावापन्न भएको छ एवं अज्ञानको मायाद्धारा आच्छन्न भएर सुख दुःखादिको भ्रान्तिज्ञानद्धारा कर्मफलको भोग गरिरहेछ ।

कुण्डलिनी शक्तिलाई ब्यँुझाउन नसकेमा शत शत शास्त्र पढे पनि वास्तविक ज्ञानले सम्पन्न हुन सक्दैन । किनकी यो शक्ति नजाग्दा अर्थात प्रकृति र पुरुष (शिव र शक्ति) को संयोग हुन पाएन भने जन्म र मृत्युको चक्र चलिरहन्छ ।

जब यसको योग हुन्छ तब अमरत्व वा मोक्षको प्राप्ति हुन्छ र वेदले यसैलाई स्वीकार गर्दै भनेको छ यसलाई जानेर नै मृत्युलाई पार गर्न सकिन्छ, यस बाहेक अन्य कुनै उपाय छैन ।

शरीरमा कुन्डलिनी चक्रको स्थिति

हाम्रो शरीरमा ७२ हजार नाडी छ, जो मूल स्थानबाट शरीरको विभिन्न भागमा पुग्छ । जुन स्थानमा धेरै नाडी एकत्रित हुन्छ, त्यहाँ एक चक्र बन्छ । शरीरमा यस्ता 7 मुख चक्र स्थित छन् ।

मुलधार, स्वधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध, आज्ञा,सहस्रार

साधकले ध्यानको माध्यामबाट यी चक्र जागृत गराउन सक्छन् ।

शरीरमा हजारौ नाडीमध्ये तीन मूख्य नाडी छन्–इडा, पिंगला, सुषुम्णा । नाडीकन्द अर्थात यसको उद्गम भागबाट यो विभिन्न स्थानमा पुग्छ । यही नाडीकन्दबाट नै ७२ हजार नाडी निस्कन्छ ।

मुलधार चक्र

यो चक्र सबै चक्रको तल्लो भागमा हुन्छ । मेरुदण्डको हड्डीको ठीक मुनी स्थिति हुन्छ । मलद्वार र योनीद्वारको बीचमा अवस्थित हुन्छ । यो रातो रंगको हुन्छ । यस चक्रमा कुन्डलिनी शक्ति साढे तीन फेरो मारेर सुतेको अवस्थामा हुन्छ । यसलाई ध्यान अभ्यासबाट जागृत गरेर अर्को चक्रसम्म पु¥याउन सकिन्छ । यसको बीज मन्त्र ‘लं’ हो ।

स्वाधिष्ठान

यो चक्र नाभीभन्दा दुई औला तल हुन्छ, जसले यौन अन्तस्राव उत्पन्न गराउँछ । यो नौरंगी हुन्छ ।

मणिपुर

यो नाभीको मुलमा स्थित हुन्छ । यो दश पंखयुक्त कमल सदृश्य चक्र हो, जसले पाचन क्रियालाई प्रभावित बनाउँछ । यसमा इच्छा, निद्रा, मोक्ष, भय, लाज, दुःअ, सन्देह आदि निहित हुन्छ ।

अनाहत

यो छाती वा हृदयमा स्थित हुन्छ र प्रतिरक्षा प्रणालीसँग जोडिएको हुन्छ । यो हरियो वा गुलाबी रंगको हुन्छ । यसमा अहंकार, आशा, सन्देह आदि निहित हुन्छ । यसलाई ध्यानको माध्यामबाट बुद्धीको विकास र शुद्धि हुन्छ ।

विशुद्ध

यो कन्ठ वा गला गन्थ्रीमा हुन्छ र यसले थाइराइड हर्मोन उत्पादन गर्छ ।

आज्ञा

यो तृतिय नेत्रको स्थानमा अर्थात निधारमा हुन्छ, जहाँ टिका लगाइन्छ । यस चक्रले सुत्ने र जाग्ने क्रियालाई नियन्त्रित गर्छ ।

सहस्रार
यो चक्र शिरमा अवस्थित रहन्छ । ध्यान साधनाबाट यसलाई जगाउंन सकिन्छ

सम्बन्धित शिर्षकहरु