काठमाडौं । आफ्नै श्रीमती हत्या गरेका कारण जेल जीवन बिताइरहेका पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला साँढे आठ बर्षपछि बिहीवार जेलमुक्त हुँने भएका छन ।
जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका डीआईजी कोइराला सर्वोच्च अदालतले आदेश दिएका कारण ८ वर्ष ६ महिना कैद सजाय भोगेर जेलमुक्त हुँन लागेका हुँन ।
सर्वोच्च अदालतको पत्र प्राप्त भइसकेकाले कोइरालालाई थुनामुक्त गर्न लागिएको डिल्लीबजार कारागार प्रशासनले जनाएको छ ।
सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।
श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।
यसअघि जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । प्रधानन्यायाधीश जबराको इजलासले कोइरालाको सजाय घटाउनुमा ‘श्रीमतीलाई तत्काल आवेशमा आइ हत्या गरेको देखिएको’ भनेको छ ।
साथै, श्रीमतीको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षामा पनि प्रभाव पर्न जाने कारण देखाउदै उनको कारागार सजाय घटाइएको प्रहरीले बताएको छ ।
नेश्नल डिफेन्स कोर्सका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर घटना लुकाउन मकवानपुरको पालुङ पुगेर शव जलाएको प्रमाण स्थानीयले भेटेएपछि
उनी २८ माघ ०६८ मा थानकोटबाट पक्राउमा परेका थिए ।







