थप व्यवस्थापन मिलाउन दुई दिन सम्मको लागि उद्धार उडान बन्द

काठमाण्डौ । विदेशमा लपत्र परेका परेका नेपालीहरुलाई स्वदेश ल्याउने कार्य सोमबार र मंगलबारको लागि स्थगित गरिएको छ ।

कोरोना महामारिका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि भइरहेको उडान दुई दिनका लागि स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लामो समयदेखि उद्धार उडानहरु भइरहँदा, विमानस्थल सरसफाई, होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका थप व्यवस्थापन मिलाउनका लागि दुई दिन स्थगित गरिएको हो ।
फेरि जुलाइ १५ अर्थात बुधबारदेखि जुलाई २१ सम्म एक हप्ता नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् । त्यसपछि अहिलेकै प्रक्रिया अनुसार उडान गर्ने या नयाँ तरिकाले अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई अहिले विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ ।
नेपालीको स्वदेश फिर्तीका लागि नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र अन्य विदेश जहाजहरु सलाम एअर, एअर अरेबिया, फ्लाई दुबई, कतार एअरवेज, टर्किस् एअरलाइन्स, मलिण्डो एअर, जजिरा एअर, कोरियन एअर लगायतले उडान भरेका छन् ।

जुलाई २१ पछि अवस्थाको विश्लेषण गरेपछि भने नियमित उडान गर्ने या अहिले झैं चार्टर्ड उडानमार्फत स्वदेश फिर्ती गराउने भन्नेबारे छलफल भइरहेको छ । अब जुलाई २१ पछि विदेशमा रहेका नेपालीको स्वदेश फिर्ती नयाँ हिसाबले गर्नेबारे छलफल भइरहेको छ ।

अवस्था हरेर नियमित उडान गर्न सक्ने सम्भावना पनि रहेको मन्त्रालयले जनाएको छ ।
गएको जेठ ३२ गतेदेखि सरकारले विभिन्न देशबाट समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडानलाई अनुमति दिइरहेको छ ।

सरकारले आजैदेखि उडान स्थगित गर्ने भने पनि आज विभिन्न ६ उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदै छन् । आज बहराइन, जापानको नारिता, फिलिपिन्सको मनिला, साउदीको दमाम, मलेसियाको क्लालाम्पुर, यूएईको दुबईबाट हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले नेपाली लिएर आउँदै छन् ।
शनिबारसम्ममा विभिन्न देशमा समस्यामा परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गइ उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपाली स्वदेश फर्किएका छन् । विभिन्न एअरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्धार गरिएको हो ।

सम्बन्धित शिर्षकहरु