
काठमाडौं । वामदेव गौतमको नेतृत्वमा गठित कार्यदलले नयाँ सरकारले प्राथमिकता दिनुपर्ने योजनाको खाका तयार पारेको छ । ओली नेतृत्वको सरकारको कामबारे सुझाव दिन एमाले र माओवादीले वामदेव गौतमको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो । गौतम नेतृत्वको कार्यदलले सुशासन, विकासलगायत विषयलाई प्राथमिकतामा राखेर खाका तयार पारेको हो ।
उक्त कार्यदलले देउवा सरकारले चुनावपछि गरेका विवादास्पद निर्णय खारेज गरी आफ्नो काम थाल्नुपर्ने सुझावसहित विभिन्न योजनाको खाका तयार पारेको छ । कार्यदलले आज प्रतिवेदनलाई अन्तिम रुप दिएर प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।
कार्यदलले सार्वजनिक खरिद ऐनको प्रक्रिया छोट्याउनुपर्ने, सहकारीको अधिकार बढाउनुपर्ने, सबै प्रदेशमा औधोगिक क्षेत्र बनाउने, तराई मधेसमा विशेष रोजगारीका कार्यक्रम सञ्चालन गर्नेपर्ने लगायतका सरकारको प्राथमिकता तय गरेको छ । त्यसैगरी प्राविधिक शिक्षालाई प्रवर्द्धन गर्ने, ठूला योजनालाई प्राथमिकता दिने, वैकल्पिक उर्जा प्रवर्द्धनको कामलाई अघि बढाउने लगायत विषयमा सरकारले प्राथमिकता दिनुपर्ने कार्यदलको सुझाव छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पदभार ग्रहणलगत्तै सुशासन, विकास लगायत विषय सरकारको प्राथमिकता हुने भन्दै पाँचबुँदे योजना घोषणा गरिसकेका छन् । ।








