भारत र पाकिस्तान दुवै देशले आ-आफ्ना जेलमा जेलमा रहेका कैदीबन्दीहरूलाई रिहा गर्ने भएका छन् । दुई देशले आ-आफ्ना देशका जेलमा रहेका माछा मार्ने मछुवा र अन्य थुनामा रहेका नागरिकलाई रिहा गर्दै आएको कार्यलाई यसपटक पनि निरन्तरता दिइएको भारतको विदेश मन्त्रालयले आज जानकारी दिएको हो ।
सन् २००८ मा भारत र पाकिस्तानले विभिन्न कारणले दुवै देशका जेलमा परेका नागरिकलाई छोडिने बारेको एक सम्झौता गरेका थिए । सो सम्झौताबमोजिम हरेक वर्षको १ जनवरी र १ जुलाईमा रिहा गर्ने भनिएको थियो । त्यस सम्झौता बमोजिम नै बुधबार दुवै देशका नागरिकलाई रिहा गरिएको हो ।
बुधबार प्राप्त जानकारीअनुसार रिहा गरिएकामा भारतको जेलमा रहेका २ सय ६५ जना पाकिस्तानी नागरिक छन् भने अरु ९७ जना माछा मार्ने मछुवा नागरिक रहेका छन् । उनीहरूलाई भारतले पाकिस्तानसमक्ष हस्तान्तरण गरेको छ ।
त्यसैगरी पाकिस्तानले पनि ५४ जना भारतीय नागरिक र अरू २ सय ७० जना माछा मार्ने भारतीय मछुवा नागरिकलाई भारतसमक्ष हस्तान्तरण गरेको छ ।
उनीहरूलाई कूटनीतिक माध्यमबाट दुवै देशका अधिकारीले एकै पटक छुटाएका थिए । बुधबार एकै समय पारेर भारत र पाकिस्तानका उच्च अधिकारीले एक आपसमा दुवै देशका कैदीबन्दीहरुलाई हस्तान्तरण गरेका भारतको विदेश मन्त्रालयले जनाएको छ ।एजेन्सी ।








