यसरी पाईन्छ उपत्यका बाहिर जाने सवारी पास, स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जानको लागि दिइने सवारी पासमा कडाइ गरेको छ ।

कोेरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएसँगै काठमाडौंमा मान्छेको धेरै चहलपहल हुने भएकोले अत्यावश्यक काम बाहेक आवतजावतमा कडाइ गर्न लागेको हो ।

नयाँ सूचनाअनुसार उपत्यका बाहिर जाने सवारी पासको अब बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन संकलन हुनेछ भने दिउँसो साढे २ बजेपछि औचित्यताको आधारमा पास वितरण गरिने छ ।

सोमबार सूचना प्रकाशित गरी प्रशासन कार्यालयले आवश्यकता र औचित्य हेरी सवारी पास वितरण गर्ने जनाएको छ।

‘काठमाडौंबाट बाहिर जिल्ला जाँदा अनिवार्यरुपमा सोही जिल्लाको स्थानीय तहको नियमानुसारको क्वारेन्टिनमा बस्ने ब्यहोरा जाने ठाउँको स्थानीय निकायबाट प्रमाणित भएपछि मात्र सवारी पास जारी हुने’ सूचनामा उल्लेख छ।

साथै मृत्यु संस्कारमा जानेको हकमा भने नियमानुसार निवेदन प्राप्त हुन आएमा पास उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

यसअघि गत जेठ ३२ गते प्रशासनले सूचना जारी गर्दै काठमाडौं प्रवेशका लागि यहाँ कुन स्थानीय तहमा बस्ने हो सोही स्थानीय तहको सिफारिस आवश्यक पर्ने उल्लेख गरेको थियो । अहिले प्रशासनले काठमाडौं बाहिर जानको लागि समेत सोहीखालको सिफारिस अनिवार्य गरेको हो ।

सम्बन्धित शिर्षकहरु