देशको निम्ति कसैसँग घुँडा टेक्नु हुन्न: संस्कृतिविद जोशी

सय बर्ष पूरा भइसकेका इतिहास तथा संस्कृतिविद सत्यमोहन जोशी अझैपनि शारिरिक र मानसिक दुवै रुपमा सक्रिय छन् । नेपालीको सरदर आयू ७० बर्ष मात्र रहेको अवस्थामा उनले प्रकृतिलाई समेत चुनौति दिएर एक सय एक बर्षमा टेकेका छन् । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा युवावस्थादेखि नै लागि परेका जोशी संस्कृतिको अध्ययन अनुसन्धानमा यतिबेला सम्म तल्लिन छन् ।
उनी पिता शंकरदास जोशी र माता राजकुमारी जोशीका जेठा छोरा हुन । एक शताब्दीकै साक्षि जोशी १९७७ बैशाख ३० गते ललितपुरको बखुम्मबहालमा जन्मिएका हुन् । बखुम्बहाल स्थित ऐतिहासिक घरमा बसेका जोशीलाई भ्र्याङ चढेर चार तल्ला माथिसम्म पुग्न कुनै प्रवाह छैन । जीवनसँग मृत्यू पनि जेडिने कुरा हो भन्दै उनी कालसँग कहिल्यै डर नलाग्ने बताउछन् । लामो आयु सम्मको जीवन पाँउदा उनी अत्यन्तै सन्तुष्ट व्यक्त गर्छन् । “उनी भन्छन्, जीवनमा कुनै असन्तुष्ट छैन, चिन्ता फिक्रि होइन म को हुँ एकदिन मर्नुपर्छ, मर्नु भन्दा अगाडि मैले के गर्नुपर्छ भन्ने कुराको चिन्तन गर्नु पर्छ ।”
आश्चर्यलाग्दो कुरो उमेरका हिसाबले जोशीका आहार बिहार शैली अहिले पनि परिवर्तन भएको छैन । नेवारी संस्कार अनुसारकै भोजन उनका लागि पाच्य छ ।
आफ्नो जीवनकालमा चार जना सम्म राजाको शासन काल भोगेका जोशीलाई राजा त्रिभुवन नै उत्तम र साहसी राजा लाग्छ । स्वर्गीय राजा त्रिभुवनदेखि पुर्वराजा ज्ञानेन्द्रसमम्म निकट रहदै आएका उनको जीवनका सबैभन्दा अविस्मरणीय दुखद घटना राजदरबार हत्याकाण्ड हो । उनी भावुक हुँदै भन्छन्,“ यो घटना मेरो जीवनकै सबैभन्दा दुखद घटना हो कारण यसले देशको नियति नै फेरियो।” विभिन्न राजनीतिक व्यवस्था परिवर्तन हुँदै गणतन्त्रात्मक नेपाल भइसक्दा पनि नेतृत्ववर्गहरुमा एक रुपता न आएकै कारण देश सुनियोजित तरिकाले माथि जान नसकेकोप्रति उनको कडा दुखेसो छ । “देशमा दण्डहीनता बढ्यो, इमान जमान हरायो, तरपनि राजनीतिक नेताहरु आत्मआलोचना गर्दैनन ।” उनले गम्भिर हुँदै भने ।
देशको सिमा अतिक्रमण भइरहेका बेला नेपाल सरकारले भर्खरै जारी गरेको नेपालको नँया नक्साको निर्माण कार्यको उनी खुलेर सराहनीय गर्छन् । यसको कार्यान्यान्वयन पनि गरेर देखाउन सक्नुपर्छ भन्नेमा जोशी बलियो तर्क राख्छन् । देशका भूभागको लागि सबै नेतृत्ववर्गले भारतसँग नझुकीकन खरो र दरो निर्णय लिनुपर्ने जोशीको सुझाव छ । “लिम्पियाधुरा, लिपुलेक र कालापानी पहिल्यैदेखि नेपालको भूभाग हो, यसको लागि देशका नेतृत्ववर्गहरु कसैसँग झुक्नुपर्ने आवश्यक छैन ।” उनी भन्छन् “देशको निम्ति कसैसँग घुडा टेक्नु हुन्न ।”
काल समय अनुसार केही विदेशी संस्कृतिलाई नेपालीले अनुसरण गरेको प्रति उनी नकारात्मक मात्र सोच्दैनन् । “ नेपाल विभिध संस्कृति भएको मुलुक हो आफ्नै मात्र परम्परा आफ्नै मात्र मौलिकता भनेर बसिरह्यो भने देश कहिल्यै उभो लाग्दैन, उनी भन्दछन् सबै सांस्कृतिक विभिधतासँगै आफ्नो मौलिकता र ।”
जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा संग्रह पाँच, नेपाली तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा ल्याएका छन्। यस कृतिमा उनको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषयहरू समेटिएका छन् ।
नेपालका विभिन्न गाउँगाउँ गएर उनले विरही गीत संकलन गर्दै जाँदा उनले ‘लोक संस्कृति’ नामक पुस्तक लेखे पछि गएर यही पुस्तकले वि। सं २०१३ सालमा मदन पुरस्कार पायो। मदन पुरस्कार गुठीको स्थापनाकालमा नै उनले उक्त पुरस्कार प्राप्त गरे। नेपालमा लिच्छवीकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोज तलास गरे र यही सेरोफेरो मा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि वि। सं। २०१७ मा उनले दोस्रोपटक मदन पुरस्कार पाए । तेस्रोपटक वि। सं। २०२८ सालमा उनले ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाए। हालसम्म तीनपल्ट मदन पुरस्कार पाउने उनी एक्ला व्यक्ति हुन् ।

साहित्य संस्कृति लगायत विभिन्न विधामा सक्रिय भूमिका खेल्दै आएका उनले त्रिचन्द्र क्याम्पसबाट बिए सम्म अध्ययन गरेका छन् । उनको योगदानको कदर स्वरूप जोशीलाई मदन पुरस्कार, सुप्रबल गोर्खा दक्षिण बाहु, त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीप, विद्यावारिधीको मानार्थ प्रमाणपत्र९काठमाडौं विश्व विद्यालय० लगायत उल्लेखनीय पुरस्कार तथा सम्मान गरि सकिएको छ । मदन पुरस्कार ३ पटक पाउने जोशी एक मात्र व्यक्ति हुन् ।


पछिल्लो समय जोशीको सम्मान स्वरुप उनको तस्वीर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ । दुई हजार पाँच सय, एक हजार र एक सय रुपियाँ दरको सिक्कामा एकातिर जोशीको तस्वीर अंकित छ भने अर्को्तिर सगरमाथाको तस्वीर रहेको छ ।
नेपाल राष्ट्र बैंकले जोशीको तस्वीर अंकित सिक्का दुई हजार पाँच सय र एक हजार दरको २५ हजार थान र एक सय रुपियाँ दरको १० हजार थान निस्कासन गरेको हो । यसअघि, शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित २० ग्राम चाँदीको सिक्का न्हुज गुठीले समेत सार्वजनिक गरेको थियो ।

सम्बन्धित शिर्षकहरु