कतैटाढा पुगेर आउँदा उहाँको वरिपरि दर्जनौं छोराछोरी झुम्मिन्छन् । कोही काखमा,कोही हातमा त कोही पिठयुँमा झुण्डिन्छन् ।बिहानउठेदेखि बेलुकीसम्म यिनै सन्तानको पालनपोषणमै ब्यस्त रहनु उहाको दैनिकी बनेको छ जोरपाटी स्थित बौद्धिष्ट बालगृहकी आमा दुर्गा मैनालीको । उहाको वरिपरि झुम्मिने ३६ जना बालबालिका मध्ये एक जना छोरी मात्र मैनाली आफैले जन्माउनु भएको हो भने बाँकी उहाको भावनात्मक सन्तानहरु हुन् ।
२०२६ सालमा पिता मेदनी प्रसाद मैनाली र आमा नरमायाँ मैनालीको पहिलो सन्तानको रुपमा झापाको गाउँमा उहा जन्मनु भएको हो । जन्मदै दृष्टिविहिन मैनालीले नौ बर्षको उमेरमा उपचार पश्चात आँखा देख्नु भयो । उपचारबाट उहाको जीवन परिवर्तन भएपछि दुर्गालाई पढ्ने चाहना भयो र १० बर्षको उमेरदेखि पढ्न थाल्नु भएकी मैनालीलेको बाल्य अवस्था थोरै मात्र कष्टकर भएन । सौतेनी आमा ल्याएर छुट्टिएका बाबुले आफू र तीनवटी बहिनी तथा आमाको पालनपोषको लागि कुनै जिम्मेवारी वहन नगरेपछि मैनाली तेह्रथुम स्थित मामाघरमा बसेर पढ्न बाध्य हुनु भयो । शारदा मावि चोहान डाडाबाट एसएलसी उतीर्ण भएपछि पद्म कन्या क्याम्पस बागबजारबाट विए सम्म उर्तिण गर्नु भएकी मैनाली अध्ययनलाई थाति राखेर समाजसेवातिर लाग्नु भएको हो ।
सडकमा शिशु उठाएर पालनपोषण गर्ने क्रममा २०४८ सालमा पहिलो पटक उहाँ कुमारी आमा बन्नुभयो । २०४८ सालमा बाटोमा फ्याकिएको एउटा बालकलाई देखेर दयाले भरिएर उहा आफैले उसलाई ल्याएर पालनपोषण गर्न सुरु गर्नु भएको थियो । अविवाहित अवस्थामा एउटा दुधे बालकलाई एउटा कोठामा ल्याएर हुर्काउन दुर्गालाई सजिलो थिएन । विहा नगरेकी केटी मान्छे दुधे बालक लिएर एक्लै बसेकी छे भनेर कुरा काट्नेहरुलाई प्रतिवाद नगरी १०० जना टुहुरा बालक सम्मको अविभावक बन्ने लक्ष्य बोकेर दुर्गा अघि बढ्नु भयो ।२०५४ सालदेखि दुर्गाले यसलाई संस्थागत रुपमा परिणत गराउदै आउनु भयो । हुर्किसकेपछि र पढाई अगाडि बढाउदै आफ्नो खुट्टामा उभिन सक्ने बालबालिका आफैमा निर्भर हुँदै छुट्टिन थालेपछि हाल उहाँका आश्रममा बालकदेखि जवान सम्म ३६ जना छोराछोरी छन् ।

२४ बर्षदेखि असहाय नानीहरुको पालनपोषणमा खट्दै आउनु भएकी मैनालीले यी सन्तानहरु हुर्काउन थुप्रै कष्ट झेल्नु भएको छ । अहिलेसम्म उहाँको सन्तान ६० जना पुगेका छन् । ती मध्ये हुर्केर आफ्नो खुट्टामा उभिन सक्ने भएपछि बालगृहबाट बाहिरिए। कतिपय स्कुल पढ्दैछन्,कोही काखमा हुर्किंदैछन् । एउटी महिलाले यतिका धेरै सन्तान पाल्न भने सजिलो छैन । अन्य बालगृहको हकमा विदेशी तथा स्वदेशी दाताको भरले चलेको देखिन्छ । सुरुका दिनहरुमा धेरै सघर्ष गरेर नै दुर्गाले आर्थिक जोहो गर्नु भयो । भाग्यवश जीवनको सहयात्री पनि दुर्गाले सोचे भन्दा ठूलो मन गरेको व्यक्ति भेटिएको उहाँको भनाई छ । बैदेशिक रोजगारमा जानु भएका मैनालीका पति रुद्र बहादुर कन्दङ्वाले आर्थिक सहयोग गर्नुहुन्छ नै । श्रीमान कनदङ्वाको कमाई र स्थानीय दाताहरुले गरेका केहि सहयोगले दुर्गाले यो आश्रम धानिराख्नु भएको छ । यसको अलवा उहाँका आफ्नै सिर्जनशील उत्पादनहरु मुख्य हुन् ।मैन बत्ति बनाउने, साबुन बनाउने, सुइटर बुन्ने लगायत जस्ता सीपमुलक कामहरु गर्दै उहाले संस्था टिकाउदै आउनु भयो । अहिले पनि उहाले अचार बनाउने, जुत्ता बनाउने जस्ता घरेलु उधोगलाई निरन्तरता दिदै आउनु भएको छ जसले गर्दा आश्रमको आर्थिक भारलाई खुकुलो पारेको छ ।उहाँको बालबच्चा हुर्काउने अर्को आधार भनेको चिनेजानेका छिमेकीले कहिंलेकाँही दिने खाद्यान्न र केहि रकम बाहेक बाँकी आफ्नै पारिवारिको योगदान रहेको छ ।
नेपालमा बिद्यमान राजनीतिक,सामाजिक अस्थिरताले आफ्नो सेवामा झनै कठिन परेको उहाँ बताउनु हुन्छ । “सरकारले एकल महिला, बृद्धबृद्धालाई भत्ता दिए जसरी वास्तविक टुहुराहरुको पहिचान गरी उनीहरुको लागि पनि भत्ता दिनुपर्ने व्यवस्था गर्नु पर्छ ।” राज्यको कमजोरीले गर्दा टुहुरा तथा अनाथ बालबालिकाको बृद्धि भएको भन्दै मैनाली यसरी गुनासो पोख्नुहुन्छ, “सरकारले यति जना टुहुरा बालबालिका छन् भनेर विवरण तयार गर्छ तर तिनिहरु कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुरामा बेखबर छ र यसको कारण र समाधान पनि खोज्दैन ।” गाँउमा भन्दा शहरमा मानवीयता हराउदै गएको दुर्गाको भनाई छ । गाँउमा त यसरी टुहुरा बालबालिका भएपनि वेवारिसे भेटिएका थिएनन् कुनै न कुनै आफन्तले आश्रय दिएका हुन्थे तर शहरमा यस्ता बालक बढी भेटिने र थोरै व्यक्ति वाहेक कसैले पालन पोषणको लागि तत्परता नदेखाउने बिडम्बना रहेको उहाँ बताउनु हुन्छ ।
बालबालिका हुर्काइसकेपछि पनि मैनालीलाई चुनौति अझै छ तिनीहरुलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउनको लागि आइपर्ने कानुनी अल्झन मुख्य समस्या हो ।उनीहरुलाई समाजले एकातिर बिचरा शब्द राखेर बोल्छ भने अर्कोतिर सामाजिक अवहेलना गर्ने प्रवृत्ति उस्तै छ । यिनीहरु आश्रममा बसेर हुर्केका हुन् बिचरा यिनीहरुको के छ र को छ र भन्ने मानिसहरुका शब्दहरु सुन्दा मैनालीलाई ज्यादै दुख लाग्छ । “उनीहरु यही समाजले सिर्जेको अवस्थाका कारण उनीहरु टुहुरा भएका हुन् र उनीहरु पनि भोलीका देशका कर्णाधार हुन् भन्ने सम्झेर उनीहरुलाई टुहुरा भएको अनुभुति गराउनु हुँदैन ।उहा भन्नुहुन्छ, “जबरजस्तिकरणीबाट तथा अन्य अवैध यौन सम्पर्कद्वारा गर्भाधारण भइसकेपछि अप्ठ्यारोमा परेका महिलाहरु मात्रै अपमानित हुने गर्छन्, यद्यपि उत्तिकै दोषी छन् पुरुषहरु पनि, कारण अनाथहरुको बृद्धि भएको हो ।” मैनाली यस्तो धारणा राख्नुहुछ, समाजकै डरको कारण अझ धन सम्पत्तिको पहुच हुने यस्ता गर्भवति महिला त भ्रुण हत्या गर्न बाध्य हुन्छन् । यस्ता महिलालाई राज्यले अपमान हैन सम्मान गरेमा यस्ता बालबचाहरु कमसेकम आमाविहिन त बन्दैनथे । उहाँ भ्रुण हत्याको विरोध गर्दै भन्नुहुन्छ, “यस्ता घटनाको जिम्मेवार महिला मात्र नभएर समाज, आमाबाबु र राज्य हुनुपर्छ ।”
पवित्र समाज सेवालाई राजनीतिक दलहरुले राजनीतिक पक्षका आधारमा मात्र सहयोग गर्न खोज्ने चेष्टाप्रति दुर्गा चित्त दुखाउनु हुन्छ, “पार्टीहरुसँग सहयोग माग्छु तर यस्तो जवाफ आउछ तपाई कुन पार्टीको हो ।”
अरु बाहिरका साथी संगीहरुको लगाउने र खाने देखासेखिले गर्दा सानो बेलामा भन्दा अहिले बालबच्चाहरुको माग बढ्दै गएकोले उनीहरुलाई हुर्काउन मुस्किल परेको उहाको भनाई छ । टिफिन, कापि, कलम, लत्ता, कपडाको आवश्यक्ता पुरा गर्नु त छदैछ त्यसमा पनि छोरीहरुलाई विशेष सुरक्षा सहितको आवास तयार गर्नु उहालाई अर्को चुनौती थपिएको छ । “म समाजसेवी हुँ मैले बालगृह खोलेको छु भन्न सजिलो छ तर वास्तविक आमा बनेर त्यसको व्यवस्थापन गर्न निकै गाह्रो छ ।”दुर्गा भन्नुहुन्छ, भूकम्प र देशको बिग्रदो राजनीतिक र आर्थिक परिस्थितिले आश्रम चलाउन झनै कष्टकर बनेको छ ।”
यस बालगृहमा बालबालिकाहरु प्राय सानै अवस्थामा ल्याइएका छन् । कोही जन्मिएको दिनमै त कोही महिना दिनका जस्ता कलिला बालकहरु ल्याइएका छन् । प्राय कोही अभिवावक नभएका बालबालिकाहरु यो आश्रममा छन् ।याँहा हाल सबभन्दा सानो भनेको ५ बर्षको बालक रहेको छ । अहिले पनि भेटिएका साना बालक प्रति दुर्गा अति भावुक बन्दै भन्नुहुन्छ, “भेटिएका सबै टुहुरा बालकलाई ल्याउने र हुर्काउने इच्छा त छ तर उनीहरुको लागि पालनपोषणदेखि पठनपाठन र श्वास्थ्य लागायत कुराहरुमा लगानी गर्न सक्नु पर्यो, आँट मात्र गरेर भएन ।”
विशेष गरि आर्थिक मन्दीकै असर परेको छ यस बाल आश्रमलाई पनि । त्यस्तै आश्रममा राखिएका सहयोगीलाई समेत तलब दिनुपर्ने हुन्छ । आश्रमको आर्थिक भार थेग्न मैनालीले ज्योति सहकारी बहुउद्धेश्यीय वचत तथा ऋण सहकारी संस्था खोल्नु भएको छ । कर्जा लगानीबाट उठेको पैसाबाट एक प्रतिशत रकम चाहि बच्चाहरुको लागि संचालक समितिबाटै छुट्याइएको छ । आश्रमका बालबालिकाको लागि कसैले मुठ्ठी दान दिन्छन् कुनै संस्थाले चामल,त कोहीले केहि रकम दिने गर्छन् ।
दुर्गाका पढ्ने चाहनाहरु अझै मरेका छैनन् । दुर्गा भन्नुहुन्छ, “समाज सेवा र पढाई एकैपटक गर्न गाह्रो हुँदो रहेछ तरपनि पढ्नलाई उमेरले छेक्दैन, ढिलै भएपनि पढाई अगाडि बढाउने बिचारमा छु।”
आफ्ना हातले यसरी स्याहार गरेका बालबच्चाहरुको प्रगति, उन्नती र श्वस्थसँग हुर्कनु र बढ्नु दुर्गाको लागि जीवनको सबैभन्दा खुशीको कुरा हो । मैनाली अझै सेवाबाट थाक्नु भएको छैन उहाले भविष्यमा बृद्ध आश्रम र बच्चाहरुको लागि हेल्थपोष्ट खोल्ने लक्ष्य राख्नु भएको छ र पछि असक्त हुदै जाँदा आफू पनि त्यहि बृद्ध आश्रममा बस्ने उहाँको योजना रहेको छ । प्रस्तुती :रमा सापकोटा ।









