युएई । कतारमा महोत्तरीको एकजना युवकलाई हत्याको अभियोगमा मृत्युदण्ड दिइएको छ ।
औराही–१,का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो । चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाइएको थियो । तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो।
उनले नुयमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ गरिएको थियो । चौधरीलाई मृत्युदण्ड दिइएको कतारस्थित नेपाली दूतावासलाई जानकारी दिएको छ । नेपाली दूतावास दोहाले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएको छ । कतार सरकारले उनको शव नेपाल ल्याउन अनुमति दिएको बताइएको छ ।
नेपालीद्वारा कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो । भने कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको पनि यो पहिलो हो । कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा १० जना जेलमा छन् । चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । क्लिनिङ कम्पनीमा सामान्य मजदूरको हैसियतमा काम गर्थे ।







