कोरोना संक्रमणबाट भारतमा एक नेपालीको मृत्यु, पाँच नेपालीद्वारा आत्महत्या

काठमाडौं । कोरोना संक्रमणको कारण भारतमा एक नेपालीको मृत्यु भएको छ।

पाल्पाको दारशिवाय घर भएका का ४५ वर्षीय दुर्गा थापाको उपचारको क्रममा मृत्यु भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

मृतक थापा रोजगारीको सिलसिलामा हरियाणामा बस्दै आएका थिए। कोरोना संक्रमण देखिएपछि स्थानीय अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

अहिलेसम्म भारतमा बस्दै आएका २८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

भारतमा संक्रमण पुष्टि भएका २८ नेपालीमध्ये १३ जना उपचारपछि निको भइसकेका छन्। बाँकी १४ जनाको उपचार भइरहेको दूतावासले जनाएको छ। भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म २१ सय भन्दा धेरैकाे मृत्यु भइसकेकाे छ।

यसैबीच कोरोना संक्रमण सुरु भएपछि भारतमा पाँच नेपालीले आत्महत्या गरेका छन्। दिल्ली र गुजरातमा गरी पाँच नेपालीले कोरोनाको त्रासको कारण आत्महत्या गरेका हुन्।

सुर्खेत घर भइ गुजरात बस्दै आएका एकै परिवारका चार जनाले एक साता अघि आत्महत्या गरेका दूतावासले जनाएको छ।

सम्बन्धित शिर्षकहरु