काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशबासीलाई सम्बोधन गरेका छन्। सम्बोधनको क्रममा कोरोना भाइरसको लक्षण देखिने सङ्क्रमण अन्य व्यक्तिमा फैलिने अवधि भएकोले उक्त समयमा उच्च सतर्कता अपनाउन उनले आमनागरिकसँग आग्रह गरेका हुन् ।
त्यसका लागि सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गरेर सहयोग गर्न उनले आग्रह गरे। लकडाउन कोरोनाको सङ्क्रमण नियन्त्रण गर्न मुलुकका लागि बाध्यात्मक भएको उनको भनाइ छ।
‘अहिले महामारीबाट बच्ने एउटै उपाय सामाजिक दूरी कायम गर्नु हो। यसको उपयुक्त विकल्प लकडाउन हो’ उनले भने, ‘त्यसैले लकडाउन जतिसुकै कष्टकर भए पनि पालना गर्नुको विकल्प छैन, म सबैमा यही आग्रह गर्न चाहन्छु।’
उनले सम्बोधनका क्रममा कोरोना रोकथाम, नियन्त्रण र उपचारसहितको तीन सूत्रीय फर्मुलासहित सरकार अभियानमा होमिएको बताएका छन्। उनले महामारीको संक्रमण फैलिन नदिन सरकारले सारा प्रयास गरिरहेको उनले बताए।
ओलीले अबका दुई साता नेपालीका लागि अझै चुनौतीपूर्ण हुने बताएका छन्। उनले समुदायस्तरमा परीक्षणका लागि सम्भावित जोखिम रहेका जिल्लामा टोली परिचालित भइसकेको बताएका छन्।








