‘राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पदमा महिला पुग्नुमा जनयुद्धको देन’

DSC2609-848x478काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पदमा महिला पुग्नुमा जनयुद्धको देन भएको बताएका छन् ।
बिहीबार नेकपा (माओवादी केन्द्र) निकट महिलाहरुको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘अहिले देशको सर्वोच्च संवैधानिक निकायमा महिलाहरुको बलियो उपस्थिति छ । राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख तीनै जना महिला छन् । नेपालमा जनयुद्ध हुदैनथ्यो भने यो सम्भव थिएन । यो नेपाली जनयुद्धको देन हो ।’
प्रधानमन्त्रीले सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको भन्दै स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न महिलाहरुलाई आग्रह गरे प्रधानमन्त्रीले भने, “सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा लागिसकेको छ । नीति निर्माणको तहमा महिलाहरुको बलियो उपस्थितिका लागि स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न आग्रह गर्दछु ।”
प्रधानमन्त्रीले महिलाहरू बिभाजित हुँदा परिवर्तनको आन्दोलन र एजेण्डा कमजोर हुन पुगेको भन्दै एकताले त्यसमा उर्जा प्रदान गर्ने बताए । प्रधानमन्त्रीले नयाँ सरकार गरीबको पक्षमा रहेकोमा जोड दिँदै दलित र कर्णालीका बच्चाको जन्मदर्तामा प्रोत्साहन भत्ता, गरीबका लागि सरकार कार्यक्रमले सरकार उत्पीडित, उपेक्षितहरुको पक्षमा छ भन्ने कुरा प्रमाणति भएको बताए ।
कार्यक्रममा महिला नेताहरु शान्ता राई, उर्मिला अर्याल, रेखा शर्मा, जयपुरी घर्ती, अमृता थापामगर, देवी खड्कालगायतले महिला आन्दोलनको औचित्य र भूमिकाबारे प्रकाश पारेका थिए ।

सम्बन्धित शिर्षकहरु