बिग बास लिग: मेलबर्न स्टार्सको दोस्रो हार

काठमाडौं । सन्दीप लामिछानेले दुई बलको अन्तरमा दुवै ओपनरलाई आउट गरेपनि मेलबर्न स्टार्सले अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटमा दोस्रो हार ब्यहोरेको छ।

सिड्नी सिक्सर्सले मेलबर्नको लगातार शानदार प्रदर्शन यात्रामा अवरोध पुर्‍याएको हो। सिक्सर्स यो खेलमा डकवर्थ लुइस नियम आधारमा २१ रनले पराजित भयो। वर्षाका कारण १४ ओभरमा छोट्याइएको खेलमा सिक्सर्सले एक सय ४३ रन जोडेको थियो।

डक वर्थ लुइस नियम आधारमा १४ ओभरमा एक सय ४७ रन बनाउनुपर्ने लक्ष्य पाएको मेलबर्नले पाँच विकेट गुमाएर एक सय २५ रनमात्र जोड्न सक्यो। त्यसअघि सन्दीपले ३ ओभरमा ३८ रन खर्चिएर २ विकेट लिए। व्यक्तिगत पहिलो ओभरमा दुई विकेट लिएका सन्दीपकव तेस्रो ओभर महँगो बन्यो। ११ औँ ओभरमा सन्दीपले तीन छक्का र एक चौकासहित २४ रन दिए।

आफ्नो पहिलो ओभरका रुपमा पालीको पाँचौँ ओभरमा आएका सन्दीपले त्यसमा २ रनमात्र खर्चिएर २ विकेट लिएका थिए। त्यस ओभरको चौथो र छैटौँ बलमा सन्दीपले दुवै ओपनरलाई आउट गरेका थिए। टीट्वेन्टी क्रिकेटमा सन्दीपको विकेट संख्या ९८ पुगेको छ। जारी प्रतियोगितामा उनले १४ विकेट लिएका छन्।

सिक्सर्सका मोइजेस हेनरिक्सले ३१ बलमा ८ छक्का र दुई चौकासहित ७२ रन जोडे। जेम्स भिन्सले पनि २२ बलमा २ छक्का र एक चौकासहित ४१ रन बनाए। हारका बाबजुत १२ खेलबाट २० अंक जोडेको मेलबर्न शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको सिक्सर्सको १२ खेलबाट १५ अंक छ। ११ खेलबाट १३ अंक भएको एडिलेड स्ट्राइकर्स तेस्रो स्थानमा छ।

सम्बन्धित शिर्षकहरु