अष्ट्रेलियाको डढेलोको मुस्लोले न्युजिल्याण्डको आकाश ढाक्यो

अस्ट्रेलिया । अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ। डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरूले आइतबार बताएका छन्।

न्युजिल्याण्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक क्षेत्र हुँदै मुस्लो न्युजिल्याण्डतर्फ आएको जनाएको छ। अष्ट्रेलियाको आगलागीबाट मुस्लो आएको यो दोस्रो पटक भएको न्युजिल्याण्डका अधिकारीहरूले जनाएका छन्।

मुस्लोले उत्तरी आइसल्याण्ड र दक्षिणी आइसल्याण्डको माथिल्लो भागलाई पनि ढाकेको अधिकारीहरूले जनाएका छन्। त्यस क्षेत्रका बासिन्दाले धुँवाको गन्ध थाहा पाउने अवस्था रहेको मौसम विभागका अधिकारीहरूको भनाइ छ। यसले दीर्घकालीन असर भने नपर्ने बताइएको छ।

आगलागीका कारण अस्ट्रेलियमा अहिलेसम्म कम्तीमा १८ जनाको मृत्यु भएको र अरू २८ जना बेपत्ता भएको जनाइएको छ। देशको भिक्टोरिया राज्यअन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ।

पश्चिम सिड्नी क्षेत्र डढेलोका कारण औसत उच्चतम तापक्रम ५० डिग्री सेल्सिएसनजिक पुगेपछि शनिबार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरूले बताएका छन्।

सिड्नीको पश्चिम पेनरिथको तापक्रम ४८.९ डिग्री मापन गरिएको मौसम विभागले जनाएको छ। यहाँ २०१८ को जनावरीमा ४७.३ डिग्री मापन गरिएको थियो। यो रेकर्ड सन् १९३९ यताकै सबैभन्दा उच्च हो। हजारौँ मानिसहरू भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन्।

सम्बन्धित शिर्षकहरु