अस्ट्रेलियामा नेपाली विद्यार्थी बोकेको बस समुन्द्री तटतर्फ हुइँकिएपछि…(फोटोफिचर)

अस्ट्रेलिया । अस्ट्रेलियाको समुन्द्रमा पौडी खेल्न जाँदा धेरै विद्यार्थीको डुबेर अकालमै मृत्यु हुने गरेको घटना नौलो होईन् । भविष्यको लागि ठूला सपना बोकेर अस्ट्रेलिया पुगेका विद्यार्थीहरुले अकालमा नै ज्यान फाल्ने गरेका छन् ।

मुख्यत पौडी, आत्महत्या, सडक दुर्घटना प्रमुख कारण हुन् । भिजन फर मोटिभेसन (भीएफएम) ले पानीमा सुरक्षा विषयक एक दिने तालिमको आयोजना गरेको छ । समुन्द्रमा पौडी खेल्न जाँदा धेरै विद्यार्थीको डुबेर अकालमै मृत्यु हुने गरेकाले दुर्घटना न्यूनिकरणका लागि भीएफएमले पानी सुरक्षा विषयक एक दिने कार्यशाला आइतबार आयोजना गरेको हो ।

पानी सुरक्षाको एक दिने तालिमको समापनमा राजदूत दाहालले प्रायोजक र प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा एनआरएनका पुर्व अध्यक्ष गोवा कटुवाल, उपाध्यक्ष देव गुरुङ, एनएसडब्लुका सह सचिव तिर्थ कार्की, नारी निकुन्जकी सचिव अन्जना बस्नेत कार्की, सामाजिक अभियन्ता सुवान चौलागाईं लगायतको उपस्थिति थियो। तालिमपछि नेपाली कला संस्कृति झल्काउने गीत संगीत प्रस्तुत गरिएको थियो।

कार्यशालामा राजदूत दाहालले प्रत्येक वर्ष समुद्रमा पौडी खेल्न जाँदा डुबेर मृत्यु हुनेको संख्या बढिरहेको सन्दर्भमा दूतावासले यस्ता कार्यशाला, एनआरएनए र नेपाली समाजबाट सुझाव खोजेको बताउँदै पौडी खेल्न जानुअघि दक्षता हासिल गर्नुपर्छ भन्ने सूचना हामीले व्यापक बनाउनुपर्ने कुरा उल्लेख गरेका थिए ।

रोयल लाइफ सेभिङ अस्ट्रेलियाले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार अस्ट्रेलियामा सन् २०१८ को जुलाई १ देखि २०१९ को जुन ३० सम्म पानीमा डुबेर २ सय ७६ जनाले ज्यान गुमाएका थिए । साथै ५ सय ८४ जनाले पानीमा मृत्युको मुखबाट जोगिएको अनुभव गरेका थिए । साथै ती डुब्ने ४ मध्ये १ जना अस्ट्रेलियाबाहिर जन्मेका थिए ।

समुद्र तथा नदीमा पौडिँदा अपनाउनुपर्ने सुरक्षाका उपायहरू नजान्दा पछिल्ला केही वर्षहरूमा करिब आधा दर्जन नेपाली विद्यार्थीहरूले ज्यान गुमाउनु परेको दुःखद् तथ्य रहेको सन्दर्भमा भिएफएमले करिब ७५ जना नेपाली विद्यार्थीलाई पानीमा अपनाउनुपर्ने सुरक्षाका बारेमा तालीम दिने व्यवस्था मिलाएको थियो । तालिम तामारामा सर्फ लाइफ सेभिङ क्लबका प्रशिक्षकले दिएका थिए ।

कार्यक्रमस्थलमा राजदूत दाहाल बिद्यार्थीहरु सँग बस चढेर सेन्ट्रल स्टेशनबाट तामारामा बीच पुगेका थिए। संभवत पहिलो पटक नै होला अष्ट्रेलिया मा राजदुत बिद्यार्थीहरु सँग बस चढेर यात्रा गरेको ।

कार्यक्रममा राजदूत दाहाल ले भने प्रत्येक वर्ष समुन्द्रमा पौडी खेल्न जाँदा डुबेर मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दो भएको बताए । उनले भने, ‘यस्ता घटनाले घर परिवारमा कस्तो असर पार्छ भन्ने कुरा हामी कल्पना पनि गर्न सक्दैनौं । उच्च शिक्षा आर्जनका लागि पठाएको आफ्ना बच्चाको यस्तो समाचार सुन्नु प(यो भने सोच्न नसकिने अवस्था सिर्जना हुन्छ ।’

राजदूत दाहालले भने, ‘यो विषयमा राजदूतावास चिन्तत छ । यस्ता घटनाको न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर दूतावासले यस्ता कार्यशाला, एनआरएनए र नेपाली समाजबाट फिड्ब्याक खोजिरहेको छ ।’ हामी भूपरिवेष्टि मुलुकबाट यहाँ आएका हौं, समुन्द्रले हामीलाई आकर्षित गर्नु स्वभाविक हो, राजदूत दाहालले भने, ‘समुन्द्रमा जानु आउनु सामान्य हो, तर यो सामान्य कुराका लागि पनि विशेष दक्ष्यता चाहिँदो रहेछ ।

यस्तै महावाणिज्यदूत दीपक खड्काले पनि कार्यक्रमको प्रशंसा गरे । समुन्द्रमा पौडी खेल्न जाँदा धेरैको ज्यान गइसकेको छ, त्यसलाई न्यूनिकरण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुनेछन् ।

भीएफएमका संस्थापक महेश प्रसाई (म्याक्स) ले कार्यक्रम पूर्णरुपमा सफल भएको बताए । यसपटकको कार्यशालामा विशेषतः नयाँ विद्यार्थीलाई सहभागी गराइएको थियो । कार्यक्रम सफल र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा संस्थाक प्रसाईले खुशी व्यक्त गरे । यस्तै एनएसडब्लु नारी कुञ्जकी अन्जना बस्नेत कार्कीले पनि यस्तो कार्यक्रमले समुन्द्रमा हुने दुर्घटनालाई न्यूनिकरण गर्न सहयोग पुग्ने बताइन् ।

 

सम्बन्धित शिर्षकहरु