रक्तदान उत्प्रेरक अर्जुन मैनाली सम्मानित

न्यूयाेर्क ।  विश्व बिख्यात रक्तदाता अर्जुन मैनालीलाई टाउन अफ वेस्टरबे न्यूयाेर्कले आज सम्मान गरेकाे छ । टाउनले डिसेम्बर २२ का दिन ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ मनाउने निर्णयसमेत गरेकाे छ ।
मैनालीले १९ बर्षको उमेरमा सन १९८७ अगष्ट २० मा पहिलो पटक रक्तदान गरेका थिए। उनले अहिलेसम्म १७२ पटक रक्तदान गरेका छन । उनले दान गरेको रगतको परीमाण ८६,००० मिलिलिटर हुन आउँछ । यति परीमाणबाट ५१६ जनासम्मलाई बच्चाउन सकिन्छ | ‘आफ्नो पाखुरामा सुइ घुसारी ५०० मिलिलिटर रगत निकाल्न भने त्यती सजिलो छैन । आफ्नो अमुल्य रगतले अरुको जीवन बचाउँछ भन्ने भावनाले मात्र यो सम्भब हुन्छ । श्रीमतीको सल्यकृयाको लागि श्रीमानलाई रक्तसन्चारका कर्मचारीले रगत दिनु न भन्दा डराएको देखेपछी अर्जुनले जरुरी पर्ने जो कोहिलाई पनि रगत दिन्छु भन्ने प्रण गरेकाे बताए ।

मैनालीले सन २०१४ मा ६ पटक रक्तदान र १३ पटक प्लेट्लेट्स दान गरेका छन् । त्यस बर्षका उनी संसारकै सर्बाधिक रक्तदाता हुन् । उनी आफ्नो उदाहरण दिदै युवाहरुलाई कम्तिमा बर्षको १ पटकमात्र भएपनि रक्तदान गर्न आब्हान गर्छन् । रक्तदान गर्यो भने कमजोर भइन्छ भन्ने भ्रम हटाउन अर्जुनले १६औं पटक रक्तदान गरेको १ घण्टा पछी १९९० डिसेम्बर ५ देखी १९९१ जनवरी ५ सम्म नेपाल अधिराज्यब्यापी बाइ-साइकल यात्रा गरेका थिए ।

मैनालीले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलियामा रक्तदान गरेका छन् । उनी रगत नै दान गर्न भनेर संसारको कुना काप्चा; मलावी, युगान्डा, इथियोपिया, रुवान्डा, केन्या, हैटी, एक्वाडोर जस्ता देशहरुमा पुगेका छन् । यसका केही कारण रहेकाे उनले बताए। अफ्रिकाका धेरै जसो देशहरुमा गर्भवती र सुत्केरी महिलाहरु अत्यधिक रक्तश्राव भई जीवन गुमाउथे । अझ त्यहाँ नवजात शिशु र ५ बर्षभन्दा कम उमेरका धेरै बच्चाहरु रक्त अल्पताका कारण जीवन गुमाउथे ।
सन १९९० को दशकमा अर्जुनले नेपालमा रहँदा केन्द्रय रक्तसन्चार सेवासँग मिलेर सयौँ स्कुल, संघ संस्थाहरुमा रक्तदान उत्प्रेरणा र रक्तदान कार्यक्रम गरे । अमेरिका आए पछी पनि सन २००८ देखी अर्जुनले अमेरिकन नेपाली संघ संस्थाहरुलाई रक्तदान गर्न उत्प्रेरित गराए । अर्जुनको प्रत्यक्ष संलग्नतामा लाखौंमा रक्तदान उत्प्रेरणा भएको छ । हजारौँले रक्तदान गरेका छन । अर्जुनले स्थानिय स्तर देखी राष्ट्रिय, राष्ट्रिय देखी अन्तराष्ट्रिय क्षेत्रसम्मका रक्तदाताहरुलाई एकत्रित गर्दै लगे । अर्जुनले विश्व स्वास्थ्य संगठनले रुवान्डामा आयोजना गरेको विश्व रक्तदाता दिवस २०१९ मा मुख्य उत्प्रेरक भएर सम्बोधन गरे ।

अर्जुनले सन २०१७ मा काठमाण्डौका ७० हजार विद्यार्थीहरुमा रक्तदानबारे जानकारी गराउदै निबन्ध प्रतियोगिता गराए । प्रतियोगितामा उत्कृष्ट हुनेलाई भु पु उपप्रधानमन्त्रिको हातबाट रु ५० हजार को पुरस्कार प्रदान गरे । त्यस्तै काभ्रेपलान्चोक र बाजुरामा पनि रक्तदान उत्प्रेरणा गराए । नेपालका रक्तदान अभियन्ताहरुलाइ हौषला प्रदान गर्न तीन रक्तदाताहरुलाई रु पचास पचास हजार र कदर पत्रले उपराष्ट्रपतीको हातबाट सम्मान गराए । बनेपामा करीब ६०० जनाको जुलुस अगाडि रक्तदाताहरुलाई बाजागाजा सहित नगर परीक्रमा गराएर सभाहलमा लगि अभिनन्दन र कदरपत्रले सम्मान गराए ।

मैनाली श्रीमती तारा, छोरी अमून र छोरा अमित सहित हिक्सभिल, न्यूयोर्कमा बस्छन ।

सम्बन्धित शिर्षकहरु