ट्रम्प-किमबीचको शिखरवार्ता सिंगापुरमा हुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीच जुन १२ मा सिंगापुरमा भेट हुने भएको छ।यसको जानकारी ट्रम्पले सामाजिक सञ्जाल मार्फत दिएका हुन् । लामो समयदेखि उनीहरुबीच वाकयुद्ध चलिरहेको थियो तर, एकएक उनीहरु एकएक अर्कालाई कटाक्ष गर्न छोड्दै वार्ता गर्न तयार भएका थिए । यसले विश्व राजनीतिमा नयाँ तरंग ल्याएको विश्लेषकहरुको भनाइ छ ।

किमलाई भेट्ने निम्तो स्वीकार गरेर ट्रम्पले गत एप्रिलमा विश्वलाई आश्च‍र्यचकित तुल्याएका थिए।त्यसअघि यी दुई नेताले एकअर्काको आलोचना र उपहास गर्ने गरेका थिए।उत्तर कोरियाली नियन्त्रणबाट मुक्त भएका तीन अमेरिकी बन्दीलाई आफूले स्वागत गरेको केही घण्टामा ट्रम्पले त्यस्तो घोषणा गरेका हुन्।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको प्योङ्याङ भ्रमणका क्रममा उनीहरूलाई मुक्त गरिएको थियो । ट्रम्प र किमबीचको भेटवार्ताका विषयबारे छलफल गर्न पोम्पेओ त्यहाँ पुगेका थिए। यसअघि पनि सिंगापुरमा यस्ता उच्चस्तरका कूटनीतिक भेटवार्ता हुँदै आएको थियो।

सन् २०१५ मा चीन र ताइवानले पनि सिंगापुरमा ऐतिहासिक वार्ता गरेका थिए।अमेरिका र सिंगापुरबीच निकट सम्बन्ध छ। सिंगापुरले उत्तर कोरियासँग कूटनीतिक सम्बन्ध राखिरहेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धहरू कडा तुल्याइँदा अन्य मुलुकले उत्तर कोरियासँग व्यापार गर्न बन्द गरेपनि सिंगापुरले भने त्यसो गरेको थिएन।

सम्बन्धित शिर्षकहरु