एजेन्सी । भारतको सर्वोच्च अदालतलले अयोध्यास्थित विवादित भूमिमा मन्दिर बनाउने गरी हिन्दूको पक्षमा फैसला सुनाएको छ ।शनिबार बिहान भारतको सर्वोच्च अदालतले विवादित अयोध्याबारे फैसला गरेको थियो । अदालतको फैसला अनुसार विवादित भूमिमा राम मन्दिर बन्ने भएको छ ।
आदेश अनुसार २।७७ एकड भूमि राम मन्दिर निर्माणका लागि प्राप्त हुने छ । ३ महिनाभित्र एक कोष बनाएर राम मन्दिर बनाउने प्रक्रिया थाल्न समेत अदालतले भनेको छ ।
त्यस्तै हिन्दूहरुले तोडफोड गरेको बाबरी मस्दिजलाई अयोध्याभित्रै वैकल्पिक जमिन दिएर निर्माण गर्नुपर्ने सर्वोच्चको आदेश छ ।
तर शनिबारको फैसलाप्रति पाकिस्तानले आपत्ति जनाएको छ । पाकिस्तानका विदेशमन्त्री महमुद कुरेशीले फैसलाबाट मोदी सरकारको कट्टरता झल्किएको प्रतिक्रिया दिएका छन् ।
कुरेशीले भारतमा रहेका मुसलमानहरु थप दबाबमा पर्ने भन्दै फैसलाको विरोध गरेका हुन् । ‘भारतमा मुसलमान पहिलेदेखि दबावमा छन् र सर्वोच्चको फैसलाले थप दबावमा पर्नेछन्’, उनले भने ।
करतारपुर कोरिडर उद्घाटन भएको दिनमा नै अयोध्याबारे सर्वोच्चको फैसला आउँदा आफू आश्चर्यमा परेको कुरेशीले बताए । त्यस्तै पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले ट्वीटमार्फत् फैसलाको विरोध गरेका छन् ।
‘विश्वले एक पटक फेरि अतिवादी भारतको असली अनुहार देखेको छ, पाँच अगष्टमा कश्मीरको संवैधानिक दर्जा खारेज गर्यो र आज बाबरी मस्जिदबारे फैसला आयो’, गफुरले ट्विटमा भनेका छन्, ‘अर्कोतिर पाकिस्तानले अरु धर्मको आदर गर्दै गुरु नानकको सेवकका लागि करतारपुर करियोर खोलेको छ । ’








