काठमाडौं । व्यापक प्रहरी परिचालन गरेर आजैदेखि नागढुंगा–नौबिसे सडकखण्डको जाम हटाइने भएको छ । विगत केही दिनदेखि लामो समयसम्म जाम खुला गर्न काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसेसम्म घण्टौं जाम हुँदा यात्रु मर्कामा थिए । एक बिरामीको त जामका कारण बाटोमै मृत्यु समेत भएकाे थियो । आज बिहान काठमाडौंमा यातायात व्यवस्था विभागमा बसेको बैठकले जाम खुलाउन ठूला मालवाहक गाडीको समय निर्धारणसँगै प्रहरी परिचालनको निर्णय गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार, आजैदेखि १० चक्के र सोभन्दा ठूला मालवाहक ट्रकहरु नारायणगढमै रोकिएका छन् । ती ट्रकहरु राति १० बजेपछि भने सञ्चालन हुन पाउने छन् ।
मालवाहक ट्रकहरु उकालोमा बिग्रने र पानी परेका बेलामा उकालोमा अघि बढ्नै नसक्ने भएकाले पनि जाम भएको थियो । त्यसैले पनि मालवाहक ठूला ट्रक तथा कन्टेनरहरु नारायणगढमै रोकिएको हो । तरकारी, फलफूल, दुध, अण्डा, औषधि लगायत अत्यावश्यक सामग्री बोकेका ट्रकहरु भने नरोक्ने निधो भएको छ ।
नागढुंगाबाट नौबिसेसम्मको जाम खुलाउन प्रहरी परिचालन पनि व्यापक बनाइएको छ । प्रहरी निरीक्षकको कमाण्डमा १० ट्राफिक प्रहरी र १५ जनपथ प्रहरी काठमाडौंतर्फबाट खटाइएको छ । त्यस्तै, धादिङबाट पनि प्रहरी परिचालन गरिएको छ । यातायात साधनेका चापलाई आधार मान्दै निर्धारण गरिएको मालवाहकलाई काठमाडौंतर्फ आउन दिन मातहतको निकायमा आदेश भइसकेको एसएसपी ढकालले बताए ।








