काठमाडौं, गोमा एयरको विमान त्रिभुवन विमानस्थलमा चरासँग ठाकिएको छ । कल साइन ९एनएकेजेड विमान चरासँग ठोकिएर दुर्घटनाबाट बालबाल बँचेको हो। विहान ८ बजेर ४६ मिनेटमा काठमाडौंबाट लुक्ला उडेको विमानमा चरा ठोकिएको बताइएको छ ।
विमान धावनमार्गबाट उड्ने वित्तिकै चरा ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गराए । जहाजमा सवार सबै सकुसल रहेको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए । जहाजमा ९ जना यात्रुहरु रहेका थिए ।
‘धावनमार्गमा चराहरु देखिएपछि उड्नै लागेको हाम्रो विमानलाई होल्ड गराइयो, सिकारीले चरा हटाएको टावरलाई जानकारी गराएपछि हामीलाई उड्न निर्देशन दिइएको थियो’ प्रबन्ध निर्देशक कार्कीले भने, ‘जहाज धावनमार्गबाट टेक अफ गर्न नपाउँदै चरा ठोक्कियो ।’
अरु चरा उडेपनि चारवटा चरा धावनमार्गमै रहेछन् । जहाजसँगै चराहरु पनि एक्कासी उडेपछि विमानमा ठोक्किएको बताइएको छ । चरा विमानको दायाँ पखेटामा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानको पखेटा सामान्य कुच्चिएको छ । विमानमा चरा ठोक्किएपछि उडान रद्द गरिएको छ ।
‘हामीले नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराइसकेका छौं, उहाँहरुको प्रमिसन पाउनासाथ कुच्चिएको भाग मर्मत गरेर जहाज उडाउँछौं’ प्रबन्ध निर्देशक कार्कीले भने, ‘आज जहाज मर्मत गरेर उडाउन भ्याइँदैन होला, भोलीसम्म मर्मत गरेर जहाज उडाउने योजना बनाएका छौं ।’








