नवलपुर । नवलपुरका तीन स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिममा भएको दुर्घटनामा २२ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। सोमबार राति करिब १० बजे कावासोतीको खरकट्टा जंगलमा ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार पाँचै जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये तीन जनाको सनाखत भएको छ। सनाखत हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विश्वकर्मा रहेको उनका भतिज सुमन विश्वकर्माले जानकारी दिए।
यस्तै, देवचुलीकै दिलबहादुर ढेगा मगर र कैलालीको धनगढी–११ घर भै हाल देवचुली बस्दै आएका सुरज राना मगर रहेको प्रहरीले जनाएको छ। अन्यको सनाखत हुन सकेको छैन। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बररको कार कावासोती–८ स्थित खरकट्टा जंगल क्षेत्रमा ठोक्किको थियो।







