काठमाडौं, पुनर्निर्माण प्राधिकरणको तीन महिने कार्ययोजना स्वीकृत भएको छ ।
सबै राजनीतिक दल र सरकारका उच्च कार्यालयका अधिकारी सम्मीलित राष्ट्रिय पुनर्निर्माण परामर्श परिषदको बैठकले तीन महिने कार्ययोजना पास गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तीन महिनाभित्र ४ चरणका कामहरु पूरा गर्ने गरि कार्ययोजना पास गरेको छ । बैठकमा सहभागीका अनुसार कार्ययोजनाको पहिलो चरणमा माघ २ गतेबाट राष्ट्रिय पुननिर्माण महाअभियान शुरु गरिने छ ।
पहिलो चरणमै जिल्लामा समन्वय समितिको गठन हुने छ । दोस्रो चरणमा पुनर्निर्माण कार्यान्वयन अवधारणा सार्वजनिक गरिने कार्ययोजना छ । यो काम फागुन १२ गतेसम्म गरिसकिने र बैशाख १२ गते प्रत्येक जिल्लाको कम्तिमा पाँचवटा गाविस वा नगरपालिकाहरुमा व्यक्तिगत आवास निर्माण कार्य प्रारम्भ गरिने छ । साथै भवन निर्माणका लागि सहयोग र्पुयाउन एकजना इन्जीनियर, एकजना समाजिक परिचालक र एकजना तालिमप्राप्त निर्माणकर्मीको व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ । पञ्चवर्षिय पुननिर्माण कार्ययोजना तयार पारि कार्यान्वयनमा ल्याउने उल्लेख छ ।
प्राधिकरणका सात वटै उपक्षेत्रीय कार्यालयको स्थापना, प्रत्येक जिल्लामा पुनर्निर्माण इकाई, सञ्चार केन्द्रको स्थापना दोस्रो चरणमा हुने छ । तेस्रो चरणमा भने सबै जिल्लाको भवन तथा जनसंख्या सर्वेक्षणको सुरुवात हुने छ । ५ जिल्लामा नमूना आवास भवन निर्माणको सुरुवात गरिने छ । उक्त भवन अनुसार अन्यले घर बनाउनुपर्ने छ । यो काम चैत्र १२ भित्र गरिसकिने छ ।
त्यस्तै चौथो चरणमा भने भुकम्पले क्षति र्पुयाएको भवन तथा जनसंख्या सर्वेक्षणको काम सकिने छ । केहिबेर अघि सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री ओलीसहित दका नेता तथा सरकारका उच्च कार्यालयका अधिकारीहरुको सहभागीता थियो । यो समिति ९७ सदस्यीय हो । बैठकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, खिलराज रेग्मीले पुर्न्निर्माण अभियानबारे आफ्नो धारणा राखेका थिए ।
कांग्रेसबाट बैठकमा महामन्त्री प्रकाशमान सिंह उपस्थीत थिए । उनले भने बोलेनन् । एमाओवादीबाट शीर्ष नेता उपस्थित थिएनन् । भूकम्पबाट प्रभावित संरचनाको पुर्न्निर्माण गर्ने सम्बन्धमा बनेको वियेधकले तीनवटा समितिको व्यवस्था गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय पुर्न्निर्माण परामर्श परिषद्, प्रधानमन्त्रीकै अध्यक्षतामा निर्देशक समिति र प्रमुख कार्यकारी अधिकृत (सिइओ)को अध्यक्षतामा कार्यकारी समितिको व्यवस्था गरेको छ । यसमध्ये परामर्श परिषद्को पहिलो बैठक बालुवाटरमा भएको हो ।
प्रधानमन्त्रीकै अध्यक्षताको निर्देशक समितिको बैठक दुई दिन अघि बसिसकेको छ । उक्त बैठकले पारित गरेका नीतिगत निर्णयहरु पनि परामर्श परिषद्ले पास गरेको प्राधिकरणले जनाएको छ ।








