काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबार रातिदेखि सात घण्टा बन्द हुने भएको छ । धावनमार्गलगायतको स्तरोन्नतिका लागि हरेक राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
विमानस्थल स्तरोन्नतिको काम पुस १५ गतेसम्म चल्ने उहाँले बताउनुभयो । दोस्रो चरणमा धावनमार्गको मध्य रेखामा बत्ती राख्ने, ट्याक्सी–वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ढल मर्मत आदि काम हुनेछ ।
विमानस्थल बन्द हुँदा पहिलाजस्तो उडान प्रभावित नहुने विमानस्थल कार्यालयले जनाएको छ । अहिले विमानस्थलमा आन्तरिक र बाह्य गरी दैनिक ४ सय उडान तथा अवतरण हुने गरेका छन् । नयाँ स्वरुपको धावनमार्ग सञ्चालनमा आएसँगै विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न सकिने नागरिक उड्ययन प्राधिकरणको भनाइ छ ।
नयाँ धावनमार्ग निर्माणसँगै अहिलेको जस्तै अवस्थामा पनि २० वर्षसम्म २४ सै घण्टा विमानस्थल सञ्चालन गर्न सकिने महाप्रबन्धक क्षेत्रीले बताउनुभयो । यसअघि गएको चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा आंशिक उडान बन्द गरेर पहिलो चरणको धावनमार्गको कालोपत्रे फेरिएको थियो ।








