काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजमा देखिएको विकृतिका विरुद्ध जिल्ला प्रशासन कार्यलय कास्कीले कडाइ गर्ने भएको छ । तीजको दर खाने नाममा केही वर्ष यता पोखरामा टिकट बेचेर महिना दिन अघिदेखि पार्टी प्यालेस, स्टार होटलहरुमा व्यवसायिक कार्यक्रमलाई निरुत्साहित गर्न जिल्ला प्रशासन कार्यलय कास्कीले कारवाही गर्ने भएको हो ।
तीजका नाममा समाजमा बढ्दो तडकभडकलाई कम गर्न, ध्वनी प्रदुषण हुन नदिन, फजुल खर्चलाई कटौती गर्न तथा समाजको मौलिक परम्परालाई जगेर्ना गर्ने किसिमले नेपाली मौलिक परम्परा र समाजको सहनशिलताको तह समेतलाई ख्याल गरि मौलिक परम्परा अनुसार हरितालिका तीज पर्व मनाउन अनुरोध गरिएको छ । प्रशासनले जारी गरेको सुचनाको वर्खिलाप हुने गरि कार्यक्रमहरुको निगरानी गरि कानुन अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यलय कास्कीले जारी गरेको सुचनामा भनिएको छ ।
प्रत्यक वर्ष भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म मनाइने हरितालिका तीज यो वर्ष भाद्र १५ देखि १७ गते सम्म परेको छ । हरितालिका तीजको बेला दिनभर निराहार ब्रत बसि एकदिन अघि दरखाने यो चाड मौलिक परम्परा हो । होटल तथा पार्टी प्यालेसमा महिनादिन अघि देखि हुने दर खाने कार्यक्रमको विकृतिलाई रोक्न नारी जागरण अभियान पोखरा लगायतका संघ संस्थाहरुले जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गरेको थियो ।









