थापाथलीको शारदा ग्रुपको पिठो गुणस्तरहिन, पिठोमा ‘भिटामिन ए’ नै पाइएन

काठमाडौं । सरकारले कर्णालीका पाँच जिल्लामा वितरण गर्न किनेको पोसिलो पिठो गुणस्तरहीन पाइएको छ। दुई वर्षसम्मका बालबालिका र गर्भवतीलाई वितरण गरिने पिठोमा भिटामिन ए नभएको परीक्षणबाट पुष्टि भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

पोसिलो पिठोमा अत्यावश्यक तत्व नै नभएपछि अहिले वितरणमा रोक लगाइएको परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले बताए ।

विश्व खाद्य कार्यक्रमले गुणस्तर मापन गर्दा भिटामिन ए नपाइएको उनले जानकारी दिए । यसैकारण केही महिनाका लागि पौष्टिक पिठो वितरण कार्यक्रम स्थगित हुन सक्ने अधिकारीहरूको भनाइ छ ।

सरकारले कुपोषण उच्च रहेको कर्णालीका पाँच जिल्ला हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पामा २० तथा सोलुखुम्बुमा १० वर्षदेखि पोसिलो पिठो वितरण गर्दै आएको छ ।

यसका लागि सरकारले गत वर्ष आठ करोड बजेट विनियोजन गरेको थियो । ६ जिल्लाका लागि विनियोजित बजेट अर्थ मन्त्रालयले ७७ वटै जिल्लामा पठाएको थियो । पछि त्यो रकम परिवार कल्याण महाशाखाले फिर्ता गराएको थियो ।

शारदा ग्रुपले बनाएको पिठो गुणस्तरहीन
प्रदेश सरकारले पिठो किनिदिन आग्रह गरेपछि तत्कालीन आपूर्ति महाशाखा (हाल व्यवस्थापन महाशाखा) ले कर्णालीका लागि पिठो खरिद गरेको थियो।

उसले थापाथलीस्थित शारदा ग्रुपले बनाएको पिठो तीन करोड रुपैयाँमा खरिद गरेको थियो । त्यही पिठो परीक्षण गर्दा अत्यावश्यक भिटामिन ए तत्व नभेटिएको हो ।

सोलुखुम्बुका लागि भने सरकारले एक करोड बजेट विनियोजन गरेको थियो । तर, बजेटभन्दा बढीको टेन्डर परेपछि खरिद पक्रिया अघि बढ्न सकेन । सरकारले खरिद गर्ने पोसिलो पिठोको वितरण र गुणस्तर मापनको काम भने विश्व खाद्य कार्यक्रमले गर्छ।

सम्बन्धित शिर्षकहरु