काठमाडौं । काठमाडौँ उपत्यकामा गए राति भारी वर्षा भएको छ। देशैभरी वर्षा कम हुँदै गए पनि काठमाडौँ र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको हो। पछिल्लो २४ घण्टामा करिब ५० मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘अहिलेसम्मको रेकर्ड अनुसार काठमाडौँ उपत्यकामा ४९.३ मिलिलिटर वर्षा भएको छ, तर यो वढ्ने क्रममा छ,’ मौसमविद् विभूती पोखरेलले नेपालखबरसँग भनिन्, ‘अहिले काठमाडौँको आकाशमा बादल लागेको छ। तर, यो दिउँसो खुल्छ, साँझपख पुनः पानी पर्न सक्छ।’
महाशाखाका अनुसार आगामी तीन दिन देशैभरी अविरल वर्षा हुने सम्भावना भने छैन।
देशका मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा बदली भएर सामान्यदेखि भारी वर्षा भए पनि अबिरल वर्षाको संभावना नरहेको पोखरेलले बताइन्।आज विहान परेको पानीका कारण काठमाडौंका केही क्षेत्र डुबानमा परेका छन् ।
काठमाडौंका नदी तथा खोला आसपासका क्षेत्र डुबानमा परेका हुन् । विहान ४ बजेपछि परेको पानीले कालीमाटी, कलंकी, सामाखुशी लगायतका क्षेत्र डुबानमा परेका छन् । बागमती, विष्णुमती, धोबीखोला, टुकुचा लगायतका खोलामा पानीको बहाब उच्च रहेको छ । खोलाको पानी बस्तीमा पसेपछि खोला किनाराका बासिन्दा प्रभावित बनेका छन् ।
श्रावण २ गते (बिहीबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको मध्य र पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना छ।
रातीः देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ।
श्रावण ३ गते (शुक्रबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।
रातीः देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ।








