भदौ ५, काठमाडौं । काठमाडौंका थप तीन स्थानमा नेपाल दूरसंचार प्राधिकरणले निःशुल्क वाइफाइ प्रदान गर्ने भएको छ । काठमाडौंको पद्मकन्या क्याम्पस, सिंहदरबार र संचारग्राम तिलगंगामा प्राधिकरणले निःशुल्क वाइफाइ सुविधा दिन लागेको हो । उपत्यका लगायतका देशका विभिन्न स्थानमा रहेका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई उपलब्ध गराउने योजना अनुसार प्राधिकरणले दोस्रो चरणमा सिंहदरबार, पदमकन्या क्याम्पस र पत्रकार महासंघ, प्रेस काउन्सिल जस्ता कार्यालय रहेका संचारग्राममा निशुल्क वाइफाइ दिने व्यवस्था गर्न लागेको हो ।
टेलिकमले यसअघि काठमाडौंको शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नर्भिक अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निशुल्क वाइफाइ सेवा दिइरहेको छ। वाइफाइ जडानका लागि इन्टरनेट सेवाप्रदायकबाट प्रस्ताव माग गरिएको छ र स्वीकृत भएका सेवाप्रदायकले सम्झौता भए बमोजिम दुई महिनाभित्र उक्त स्थानहरुमा वाइफाइ जडान गर्न पर्नेछ । दशैसम्ममा उक्त स्थानहरुमा निःशुल्क वार्इफार्इ जडान भइसक्ने अनुमान गरीएको छ ।








