मौसम खराबको कारण यस्तो,कहिले हुन्छ मनसुन सुरु ?

काठमाडौं । केहीदिन यता वर्षायामझैं पानी परिरहेको छ । दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ । तर नेपालमा मनसुन शुरू भएको भने हैन । वर्षातलाई निम्ता गर्दै प्रिमनसुन सक्रिय बनेको मौसमविद्को भनाइ छ । नेपालमा मनसुन भित्रने दिन १० जुन हो । त्यसको १० दिन अघि नै प्रिमनसुन सक्रिय बन्नु वर्षातको संकेत भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताए । ‘बंगालको खाडीबाट दक्षिणपूर्वी वायु नेपालमा बग्न थालेको छ,’ उनले भने, ‘यसले गर्दा केही दिन नबिराई पानी पर्नेछ ।’ त्यो गह्रौं आद्रतासहितको वायु वायुमण्डलको उच्च तहमा भने पुगेको अवस्था हैन ।

तल्लो सतहमा मात्र रहेकाले स्थानीय वायुको असरमा पानी परिरहेको उनी बताउँछन् । यसकै असरका कारण पूर्वी भेग, मध्यपहाडी भेग र तराईका भेगमा मेघगर्जनसहित रोकिँदै पानी पर्दै गर्ने अर्यालले बताए । पश्चिममा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभावले पानी पर्ने उनले उल्लेख गरे । उनले भनेझैं विगत केही दिनयता बिहान घाम लाग्ने अपराह्व हावा, हुरी र असिनासहित पानी पर्ने क्रम चलिरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यसरी प्रिमनसुन सक्रिय हुनुमा तापक्रमको वृद्धिले स्थानीय वायुको विकास हुनु कारक रहेको जल तथा मौसम विज्ञान विभाग स्थित मौसमविद् प्रतिभा मानन्धर बताउँछन् । उनका अनुसार विगत एक महिनायता काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा अचाक्ली गर्मी महसुस भएको छ । काठमाडौंमा यो वर्ष ३२.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड भयो । नत्र केही वर्षयता सामान्यतया ३२ भन्दामाथि गएको थिएन ।

नेपालगञ्जमा ४३.५, धनगढीमा ४२.६, भैरहवामा ४१.८, दिपायलमा ४०.४ र ४०.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । तापक्रम हेर्दा लु लाग्ने अवस्थाको रहेपनि स्थानीय वायुको प्रभावले पानी पर्दा लु नलागेको मानन्धरले बताए । अप्रिलको आधा महिनादेखि मेको आधा महिना नेपालमा अत्यधिक गर्मी हुने महिनामा पर्छ । उनले भनेजस्तै हावा ओसिलो हुँदा तातो र उकुसमुकुस हुने खालको गर्मी सर्वसाधारणले महसुस गरे ।

हिउँद सकिएलगत्तै शुरू भएको प्रिमनसुन यसपालि निकै सक्रिय रहेको मानन्धरले बताए । प्रिमनसुन सक्रिय हुँदा वर्षात कम हुने आकलन एकथरि मौसमविद्ले गरेपनि मानन्धरले भने त्यो नहुने बताए । ‘प्रिमनसुनले पानी सकिने हैन वातावरणमा आउने परिवर्तन र वाष्पयुक्त वायुको आवतजावतले मनसुनमा कति पानी पर्ने भन्ने निर्धारण हुनेगर्छ,’ उनले भने, ‘तर प्रिमनसुनमा पहिलेभन्दा पानी बढी परेको भने हो ।’

बंगालको खाडीस्थित अन्दामान टापुबाट निकोमन आइल्यान्डको बाटो मनसुन नेपाल आउँदै गरेको मानन्धरले बताए । उनका अनुसार मनसुनले श्रीलंकामा छोयो । हरेक वर्ष २५ मे को आसपास श्रीलंकामा मनसुन पुग्नेगर्छ । हरेक वर्षको १ जुनमा तामिलनाड्डु आइपुगेपछि त्यो मनसुन बंगलादेशमा पनि पुग्छ । त्यसपछि भने मनसुन नेपाल भित्रनेछ । मनसुन स्वागत गर्न चलिरहेको प्रिमनसुनमा ठूला ठूला थोपाको पानी, असिना र हावाहुरी ह्वात्त आउँदै जाने गरिरहने मानन्धरले बताए ।

बिहान, दिउँसो र राति विभिन्न स्थानमा पानी पर्नेक्रम मनसुन भित्रिँदासम्म जारी रहने विभागले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु