गोरखामा हेलिकप्टर यसरी भयो खरानी

simrik-airअसार ७। गोरखाबजार, चालकले ठाउँ नचिन्दा उत्तरी गोरखाको सामागाउँ गाविस–९ स्थित साम्दो गाउँ नजिकै सिम्रिक एअरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको खुलेको छ । ९ एन एकेएफ कलसाइन भएको हेलिकप्टर पल्टेपछि आगलागी भएको थियो ।

सामागाउँ बजारमा अवतरण गर्नुपर्ने हेलिकप्टर साम्दो गाउँ नजिकै भिरालो चौरमा अवतरण भएपछि पुनः सामागाउँतर्फ उडाउने क्रममा अनियन्त्रित भएर पल्टेको हो ।

“सामागाउँमा अवतरण गर्नुपर्ने हेलिकप्टर क्याप्टेन सुरेन्द्र पौडेलले साम्दोमा अवतरण गरे” हेलिकप्टरमा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख नारायणप्रसाद आचार्यले भने – “सामागाउँ भनेको साम्दो भन्ने बुझेर क्याप्टेनले साम्दोमा हेलिकप्टर अवतरण गरे ।” साम्दोबाट पुनः सामागाउँतर्फ उड्न लाग्दा अनियन्त्रित भएर हेलिकप्टर पल्टेको आचार्यको भनाइ छ ।

“उड्ने बेला भएको थियो । हेलिकप्टर हल्लियो र पल्टियो । एउटा पङ्खा भाँच्चियो,” आचार्यले भने– “धुवाँ पुत्पुताउन सुरु भयो । क्याप्टेनले ढोका खोल्न भ्याए र बाँचियो ।” हेलिकप्टरभित्र रहेका चालक पौडेलसहित खानेपानी कार्यालयका प्रमुख आचार्य, आइएमसी संस्थाका कर्मचारीहरु अमल तुलाधर, विश्व श्रेष्ठ र सौरवराज क्षेत्री थिए । बिहान ९ः४५ बजे काठमाडौँबाट उडेको हेलिकप्टर १०ः५२ बजे साम्दोमा पल्टेको थियो ।

“एक घन्टासम्म हेलिकप्टरमा आगो लाग्यो,” उनले भने – “आगो निभाउन सक्ने स्थिति थिएन ।”

हेलिकप्टरभित्रबाट निसास्सिएर बाहिर निस्केकाले आगो निभाउनेतर्फ कसैले ध्यान दिनै नसकेको आचार्यको भनाइ छ । “नजिकै पानीका स्रोतहरु थिएनन्,” उनले भने – “हेर्दाहेर्दै हेलिकप्टर जल्यो । एक सेकेन्डले बाँचियो ।” हेलिकप्टरबाट बाहिर निस्कन पाएपछि सबैजना खुसी भएको आचार्यको भनाइ छ । “दोस्रो जुनी पाएँ । ग्रहदशा सकियो,” उनले भने– “हामी सबै सकुशल छौँ ।” चालक पौडेलको गोडामा सामान्य चोट लागेको छ ।

मनाङ एअरको हेलिकप्टरले चालक पौडेलसहित पाँचजनालाई उद्धार गरेको छ । आचार्यलाई गोरखास्थित नाम्जाली डाँडामा र अन्यलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो । चालक पौडेलसहित आइएमसीका तीन कर्मचारी काठमाडौँबाट र खानेपानी कार्यालयका प्रमुख आचार्य गोरखास्थित नाम्जाली डाँडाबाट चढेर उत्तरी गोरखा पुगेका थिए।

गोरखा सदरमुकामदेखि ५२ कोस टाढा सामागाउँ पर्छ । सामागाउँदेखि तीन घन्टा टाढाको दूरीमा साम्दो गाउँ पर्छ । साम्दो गोरखाको उत्तरी गाउँ हो ।

सम्बन्धित शिर्षकहरु