एजेन्सी । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आफूसँगै बस्दै आएका प्रेमीसँग विवाह गर्ने टुङ्गो लगाएकी छिन्। प्रधानमन्त्री कार्यालयले त्यसको पुष्टि गरेको छ। पत्रकारितामा इन्टर्नसिप गरिरहेका एक युवकले त्यसबारे सोधखोज गरेर प्रधानमन्त्री कार्यालयमा त्यसबारे जानकारी मागेपछि प्रधानमन्त्रीका प्रवक्ताले बिहेको छिनोफानो भएको पुष्टि गरे। उनका प्रेमी क्लार्क गेफोर्ड टेलिभिजनका कार्यक्रम प्रस्तोता हुन्। उनीहरू लामो समयदेखि विवाह नगरे पनि सँगै बस्थे।
उनीहरूले गत वर्ष छोरी जन्माएका थिए। पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोपछि पदमा रहँदा आमा बन्ने जसिन्डा आर्डन दोस्रो महिला प्रधानमन्त्री हुन्। बिहेको छिनोफानो भएको खबर सञ्चारमाध्ययममा आएपछि प्रधानमन्त्री आर्डनले रेडियो न्युजिल्यान्डसँग भनिन्, ‘म निकै भाग्यमानी छु। मसँग यस्तो साथी छ, जसले मलाई साथ दिन्छ, जसले संयुक्त जिम्मेवारीको ठूलो अंश आफूले लिइरहेको छ किन कि उ एउटा अभिभावक पनि हो।’ आर्डनले गत वर्ष अक्टोबर महिनामा प्रधानमन्त्री छँदै छोरी जन्माइन् र संयुक्त राष्ट्रसंघको एउटा बैठकमा चार महिनाकी छोरीलाई काखमा लिएर सहभागी भएपछि पहिलोपटक चर्चामा आएकी थिइन्। त्यहाँ उनले अनेक सल्लाह–सुझाव पाएकी थिइन्।
त्यसबारे उनले भनेकी थिइन्, ‘मलाई धेरै आवश्यक नभएका सल्लाह प्राप्त भएका छन्। तिनलाई के गरूँ भन्ने मलाई थाहा छैन। तर सल्लाह दिनेहरूलाई म धन्यवाद दिन चाहन्छु।’ दुई जनाबीच पहिलो पटक सन् २०१२ मा एउटा पुरस्कार वितरण कार्यक्रममा भेट भएको सञ्चार माध्यमहरूले जनाएका छन्। आर्डन सन् २०१७ को जुलाइमा विपक्षी नेताको रूपमा पहिलो दिन एउटा टिभी कार्यक्रममा गएकी थिइन्। कार्यक्रममा उनलाई करिअर र बच्चामध्ये पहिलो प्राथमिकता के हुन्छ भनेर सोधिएको थियो।








