एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टसको यात्रा डच क्लब आयाक्सले क्वाटरफाइनलमै अन्त्य गरिदिएको छ। जितसँगै आयाक्स युरोपियन कपमा २२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ। युरोपेली च्याम्पियन्स लिगअन्तर्गत मंगलबारको खेलमा आयाक्ससँग २–१ ले पराजित भएसँगै समग्रमा ३–२ को हार बेहोर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरियो। खेलको २८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए।
तर, त्यसको ६ मिनेट नबित्दै आयाक्सका लागि भान डेर बिकले अफसाइड ट्र्याप बिट गर्दै बराबरी गोल फर्काए। पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६७ औं मिनेटमा आयाक्सका कप्तान माथिस डे लिटले गोल गर्दै अग्रता दिलाए। उनले लास स्कोनेको कर्नरमा हेड मार्फत आकर्षक गोल गरे। पहिलो हाफको तुलनामा दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको आयाक्सले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र टोटनहम हट्सपरको विजेतासँग प्रतिष्पर्धा गर्ने छ।








