काठमाडौं । संसारकै खुसी देशको सूचीमा नेपाल विश्वमा १०० औं खुशी हुने देशमा परेको छ । वल्र्ड हेप्पीनेस रिर्पोट अनुसार १५६ देश मध्ये नेपालीहरू १०० औं स्थानमा परेको हो । अघिल्लो वर्ष नेपाल १०१ स्थानमा थियो । त्यतिबेला ४.८८ अंक पाएको नेपालले यो वर्ष ४.९१ अंक प्राप्त गरेको छ ।
प्रतिवेदन अनुसार विगत बाह्र वर्षमा समुदायमा प्रविधि, सामाजिक मान्यता, द्वन्द्व र सरकारी नीतिहरूले पारेको प्रभावको आधारमा खुशी मापन गरिएको हो । छिमेकी भारत १४० औं स्थानमा छ । दक्षिण एसियाली देशमध्ये पाकिस्तान ६७, भुटान ९५, बंगलादेश १२५, श्रीलंका १३० र अफगानिस्तान १५४ औं स्थानमा छ ।
सन् २०१६ मा पहिलो स्थानमा रहेको डेनमार्क यो वर्ष दोस्रो स्थानमा छ। त्यस्तै नर्वेले तेस्रो स्थान हासिल गरेको छ।
यूएन अन्तर्गतको ‘सस्टेनएबल डेभ्लपमेन्ट सोलुसन्स् नेटवर्क’ ले १५६ देशमा गरेको अनुसन्धानका आधारमा बुधबार ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट अपडेट २०१९’ सार्वजनिक गरेको हो। बुधबार ‘अन्तर्राष्ट्रिय खुसी दिवस’ पनि थियो।
यो वर्षका सबभन्दा खुसी १० देश यी हुन्ः
१. फिनल्यान्ड
२. डेनमार्क
३. नर्वे
४. आइसल्यान्ड
५. नेदरल्यान्ड्स
६. स्विटजरल्यान्ड
७. स्विडेन
८. न्यूजिल्याण्ड
९. क्यानडा
१०. अस्ट्रेलिया
यो सूचीमा अमेरिका १९ औं नम्बरमा छ। बेलायत १५ औं, जर्मनी १७ औं, जापान ५८ औं, रसिया ६८ औं, चीन ९३ औं स्थानमा छन्।
सबभन्दा कम खुसी देशमा सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, तान्जानिया र रूवान्डा छन्।








