काठमाडौं । एसियन कपको उपाधि कतारले जितेको छ। शुक्रबार भएको फाइनलमा चार पटकको च्याम्पियन जापानलाई ३-१ ले पराजित गर्दै कतारले पहिलो पटक उपाधिमाथि कब्जा जमाएको हो। आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा भएको खेलमा खेलको १२ औं मिनेटमा कतारका लागि अलमोज अलिले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको २७ औं मिनेटमा अब्दुल्लाहजइज हइमले गोल गर्दै कतारको अग्रता दोब्बर पारे।
पहिलो हाफमा २-० ले पछि परेपछि दबाबमा देखिएको जापानले दोस्रो हाफको ६९ औ मिनेटमा ताकुमी मिनामिनोले गोल गर्दै जापानलाई खेलमा फर्काउने प्रयास गरे। तर, खेलको ८३औँ मिनेटमा कतारका अक्रम अफिफले पेनाल्टीमार्फत गोल गर्दै कतारलाई ३-१ को सहज जित दिलाए। सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले राष्ट्रिय टिमलाई ठूलो लगानी गरेको छ।
जारी एसियन कपमा कतारले उत्कृष्ट खेल प्रदर्शन गर्दै बलियो राष्ट्रलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। त्यस्तै पाँच पटक उपाधि जित्ने सुरमा रहेको जापान भने उपविजेतामा सीमित भयो। जापान भने पहिलोपटक फाइनलमा पराजित भएको हो।








