काठमाडौं । बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । बुधबार काठमाडौँसहित देशका अधिकांश क्षेत्रमा बदली भइ पानी परेकोले आज पहाडी क्षेत्रमा बाक्लो कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्यान्नसम्म नै बाक्लो कुहिरो रहने र मध्यान्नपछि भने कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मुलुकको मध्य र पूर्वका क्षेत्रमा आज मौसम आंशिक बदलीको अवस्था रहे पनि पानी पर्ने सम्भावना नरहेको तर पश्चिमका क्षेत्रमा भने आंशिकदेखि सामान्य बदलीको अवस्था रही पहाडी क्षेत्रका केही ठाउँमा पानी समेत पर्न सक्ने महाशाखाले जनाएको छ । मध्य र पूर्वका क्षेत्रमा शुक्रबार भने पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ ।
सोमबारदेखि सक्रिय भएको पश्चिम वायुको प्रभाव बिहीबार बिहान निष्क्रिय हुने तर सोमबारको वायुको प्रभाव सकिन नपाउँदै बिहीबार बेलुकादेखि पुनःपश्चिमी वायुको प्रभाव बढ्ने महाशाखाले जनाएको छ । शनिबार बेलुकादेखि भने मौसम सफा हुन पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार बुधबार सबैभन्दा धेरै वर्षा कास्कीको लुम्लेमा (१६ मिलिमिटर) भएको छ । यस्तै, काठमाडौंमा १४.३ मिलिमिटर, सुर्खेतमा १३ मिलिमिटर, डढेल्धुरामा ८.६ मिलिमिटर वर्षा भएको छ । महाशाखाले शनिवारदेखि मौसममा सुधार आज पनि केहीदिनसम्म चिसो बढ्ने जनाएको छ । आज बिहान काठमाडौ उपत्यकाको न्यूनतम् तापक्रम ४.८ डिग्री मापन गरिएको छ । दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम १५ देखि १७ डिग्रीसम्म पुग्ने महाशाखाले जनाएको छ ।








