आन्दोलनरत दललाई वार्तामा आउन पुनः आव्हान

pm-officeकाठमाडौँ । सरकारले आन्दोलनरत मधेशी मोर्चासहितका दलहरुलाई वार्ता र संवादमा आउन पुनः आव्हान गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट अधिकतम लचकताका साथ आन्दोलनरत मोर्चा आबद्ध दलहरुलाई वार्ता र संवादका लागि पुनः आव्हान गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारकर्मीलाई जानकारी दिए ।
आन्दोलनरत पक्षका मागलाई वार्ता, संवाद र सहमतिबाटै निकासमा पुगेर समाधान खोजी राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयनलगायत महत्वपूर्ण कामहरुमा केन्द्रित हुन पनि बैठकले सबैलाई आग्रह गरेको उनले बताए ।
“सरकारले मधेशी मोर्चासहितका दललाई विगतमा पनि पटक–पटक लिखित रुपमा वार्ता र संवादमा बसी उपयुक्त निकासका लागि आग्रह गरिसकेको सन्दर्भमा फेरि एकपटक अधिकतम लचकताका साथ सरकार सबै कुरा सुन्न तयार छ र तत्कालै निकासमा पुगेर राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयनलगायतका विषयमा केन्द्रित हुन सरकारले सबैलाई आग्रह गरेको छ,”– सञ्चारमन्त्री राईले भने।
सरकारले भर्खरै श्रीलङ्कामा गएको बाढी, परिहोबाट भएको क्षतिको अवस्थालाई ध्यानमा राखी नेपाल सरकारको तर्फबाट एक लाख अमेरिकी डलर ( करिब १० करोड रुपैयाँ) बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी लुम्बिनी अञ्चल अस्पताललाई १०० शैयाबाट ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको सञ्चारमन्त्री राईले बताए । रासस

सम्बन्धित शिर्षकहरु