कुमार घैंटेको समूह अझै सक्रिय रहेको खुलासा, लुट्दा लुट्दै तीन जना पक्राउ

काठमाडौं । प्रहरीको इन्काउन्टरमा मारिएका काठमाडौँका कुख्यात गुण्डा नाइके कुमार श्रेष्ठ (घैैंटे)का सदस्यहरु अझै पनि आपराधिक कार्यमा सक्रिय रहेको खुलासा भएको छ । काठमाडौंको जडिबुटीबाट पेस्तोलसहित तीन जना पक्राउ परेपछि यसको खुलासा भएको हो । पक्राउ पर्नेहरुमा धदिङ स्थायी घर भई काठमाडौं बस्दै आएका अर्जुनप्रसाद अधिकारी र धादिङकै केदार अधिकारी रहेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ जडिबुटीस्थित गणेशमाया श्रेष्ठ घरमा लुटपाट गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।केदारको साथबाट अवकाशप्राप्त प्रहरी जवानको नक्कली परिचयपत्र फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । दुई अधिकारीसँगै काभ्रे स्थायी घर भएका अञ्जन उप्रेतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट एकथान चाईनिज पेस्तोल, म्यागेजिन र ३ राउण्ड गोली बरामद गरिएको छ । पेस्तोलबाहेक उनीहरुको साथबाट ६ थान घरेलु हतियार (खुकुरी) समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई हिरासतमा राखी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

सम्बन्धित शिर्षकहरु