काठमाडौं । विश्व चर्चित स्पिनर अफगानिस्तानका राशिद खानलाई पछि पर्दै नेपाली युवा स्पीनर सन्दीप लामिछाने अस्ट्रेलियाको चर्चित टी-ट्वान्टी क्रिकेट प्रतियोगिता बिग बास लिगमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।
३ खेलबाट ७ विकेट लिएका सन्दीपले अफगानी स्टार स्पीनर रसिद खान लगायत बलरहरूलाई समेत पछि पारेका हुन् । चौंथो स्थानमा रहेका रसिदले ५ विकेट लिएका छन् । तेस्रो खेलमा आफ्नो प्रभाव कायम राख्ने क्रममा बिहीबार सिड्नी सिक्सर्सविरुद्ध २ विकेट लिएका छन् ।
पहिलो खेलमा २ तथा दोस्रो खेलमा ३ विकेट लिएका थिए । मेलवर्न स्टार्सका तर्फबाट खेलिरहेका सन्दीपले विपक्षी टीमका कप्तान मोइसिस हेनरिक्स र इंग्लिस ब्याट्सम्यान टोम कुरानलाई एल्बीडब्लू धरापमा पारेका हुन् । ४ ओभरको आफ्नो स्पेल पूरा गर्ने क्रममा सन्दीपले २ विकेट लिँदै १८ रन खर्चिए । योसँगै सन्दीपको बिग बास लिगमा विकेट संख्या ७ पुुगेको छ भने ७१ रन खर्चिएका छन् । त्यस्तै ड्यानीयल साम र जासन बेरेन्डफले समान ६–६ विकेट लिएका छन् ।








