उपत्यकामा सार्वजनिक सवारीलाई अब नयाँ रुट,यसरी घटाइँदैछ जाम

काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाको सवारी जामलाई कम गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट फेरबदल गर्ने भएको छ । अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै विभागले आगामी पुसदेखि नयाँ रूट सञ्चालनमा ल्याउने भएको हो ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो शहरी यातायात परियोजनाले नयाँ रूट सिफारिस गरेको छ । तिनै नयाँ रुटमा यातायात सञ्चालन गराउने विभागले तयारी गरिरहेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

२०६७ सालमा शुरु भएको उक्त परियोजनाले हालका रूटमा हेरफेर गर्ने सुझाव दिएको छ । उक्त परियोजनाले हालका २ सय बढी रूटलाई मिसाएर ६६ रूटमा सीमित गर्न सुझाव दिएको छ ।

सोहीअनुसार विभागले आगामी पुसदेखि सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । सबै ६६ रुटको यकिन भैसके पनि विभागले नयाँ रुट सार्वजनिक भने गरेको छैन ।

पैदल यात्रु हिड्ने बाटो, ट्राफिक लाइटदेखि पुलसम्म बनाउनेगरी आएको उक्त परियोजनाकै सहयोगमा गोंगबुदेखि सिनामंगलसम्मको पाइलट रूट सञ्चालन भइसकेको छ ।

परियोजनाले सिफारिस गरेका रूट तीन प्रकारका रहेका छन् । जसमा रूटअनुसार ठूला, मध्यम र साना सवारी गुड्ने छन् । प्राथमिक रुटमा ठूला गाडीमात्र गुड्ने छन् भने अन्य दुई रुटमा मध्यम र साना सवारी चल्ने छन् ।

पहिलो प्राथमिकतामा आठ वटा रूट रहेका छन् । धेरै यात्रुको चाप हुने यस्ता रूटमा ठूला गाडी मात्र गुड्ने छन् । त्यस्तै दोस्रो प्राथमिकतामा १६ वटा रुट छन् । जसमा मिनिबस मात्र चल्ने छन् ।

यो रूटमा चलिरहेका माइक्रो बस र टेम्पोलाई तेस्रो प्राथमिकतामा सार्ने विभागको योजना रहेको छ । त्यस्तै ४२ वटा तेस्रो प्राथमिकता प्राप्त रूट छन्। यसमा माइक्रो र साना सवारी मात्र चल्ने छन् ।

सम्बन्धित शिर्षकहरु