एसपी डिल्लीराज विष्टको डीएनए मिलेन,प्रतिवेदन सार्वजनिक माग गर्दै स्थानीय फेरि आन्दोलनमा

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनजनाको डीएनए रिपोर्ट तयार भएको छ । कञ्चनपुर प्रहरीका अनुसार सकेसम्म डीएनए रिपोर्ट आज सार्वजनिक गर्ने तयारी छ ।

तर प्रहरी उच्च स्रोतका अनुसार एसपी विष्टको डीएनए परीक्षण ‘म्याच’ भएको छैन । प्रहरी प्रधान कार्यालयले निर्मला हत्याकाण्डमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टको र कञ्चनपुर प्रहरीले एसपी विष्टका छोरा किरण र स्थानीय आयुस विष्टको डीएनए परीक्षण गरेको थियो ।

आज उनीहरु तीनै जनाको डीएनए रिपोर्ट कञ्चनपुर प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको डीएसपी कृष्णराज ओझाले जानकारी दिए । प्रहरी स्रोतका अनुसार एसपी विष्टको छोराको डीएनले मिलेको छैन ।

‘‘उहाँ आफैँ विवादमा आएपछि डीएनए परीक्षणका लागि तयार हुनुभएको हो । उहाँलाई प्रमाण नष्ट गर्न भूमिका खेलेको आरोप लागेको छ । त्यसमाथि डीएनए परीक्षणका लागि तयार हुनुभयो । उहाँको रगत निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग म्याच खाएको छैन,” प्रहरी उच्च स्रोतले भन्यो ।

शुक्रबार डीएनए परीक्षणको रिपोर्ट कञ्चनपुर पठाइएको थियो । प्रहरी उच्च स्रोतले भन्यो,‘‘एसपी विष्टको डीएनए परीक्षण रिपोर्ट मिलेन । उनका छोरा र स्थानीय आयुस विष्टका विषयमा नबोलौं ।’’

गत साउन १० गते साथी रोशनी बमको घरमा जान हिँडेकी भीमदत्तनगर २ उल्टाखामकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । साउन १० गते नै प्रहरीलाई निर्मला हराएको खबर गरेको भएपनि प्रहरीले खोजी कार्यमा लापरवाही गरेको थियो ।

निर्मलाको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धान र स्वास्थ्य परीक्षणबाट पुष्टि भएपनि हत्याराको पहिचान अझै हुन सकेको छैन । यसअघि प्रहरी ४ भदौमा दिलिप विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर उनको डीएनए परीक्षण पनि ‘म्याच’ नभएपछि उनी छुटेका थिए । प्रहरीले दिलिपलाई नक्कली अभियुक्त बनाएको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले पनि औंल्याएको छ । प्रतिवेदनमा हत्यापछि प्रमाण लुकाउन एसपी विष्टको संग्लनताको आशंकासँगै त्यसमा सीआईबीका डीएसपी अंगुर जिसी लगायतले सघाएको उल्लेख छ । कञ्चनपुरमा शनिबारदेखि हरिप्रसाद मैनाली नेतृत्वको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलन सुरु भएको छ ।

निर्मला पन्तको हत्यापछि घटनाको मुचुल्का तयार पार्ने दिनमा भारतमा रहेका आफ्ना बुवाको औंठाछाप मुचुल्कामा रहेको पाइएपछि प्रहरीको गम्भीर त्रुटि रहेको भन्दै स्थानीय थप आक्रोशित बनेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रामबहादुर थापाले पनि हत्याको समयमा निर्मलाले लगाएका कपडासमेत अहिलेसम्म फेला पार्न नसकिएको बताएका थिए ।

एकअर्कालाई चिन्दैनन् आयुस र एसपीका छोरा
निर्मला हत्याकाण्डमा तत्कालीन एसपी विष्टका छोरा किरण र स्थानीय आयुस विष्टको नाम पनि उक्त घटनामा जोडिएको थियो । साउन १० गते एसपी विष्टका छोराको जन्मदिन थियो । किरणले महेन्द्रनगरमै रहेको होटल ओपेरामा जन्मदिन मनाएका थिए । होटल ओपेरामा जन्मदिन मनाएको सीसीटिभी फुटेज नभेटिएको भएपनि त्यो दिन एसपीका छोरा किरणसहित २ जना युवा र ३ जना युवती रहेको स्रोतले जानकारी दिएको छ । प्रहरी स्रोतले भन्यो, ‘‘किरणले फोटोसुट गरेको देखियो । फोटोमा निर्मला होइन अरु ३ जना युवतीहरु थिए ।’’
किरणले जन्मदिनमा लिइएका तस्बिर प्रहरीलाई उपलब्ध गराएका थिए । प्रहरी अनुसन्धानका क्रममा किरण र मेयरका भतिजा आयुसबीच चिनाजानसमेत नभएको खुलेको छ ।

‘‘उनीहरुको बीचमा कुनै पनि कोणबाट चिनाजान देखिँदैन । जन्मदिनमा पनि किरणसँग भएका अर्का युवक आयुस होइनन् । उनको बारेमा पनि सबै जानकारी लिइसकेका छौं,’’ प्रहरी स्रोतले भन्यो । निर्मला हत्याकाण्डको अनुसन्धान सीआईबीका एसएसपी ठाकुर ज्ञवाली र कञ्चनपुर प्रहरीले गरिरहेको छ भने घटनामा शंकास्पद भूमिका देखिएको भन्दै एसपी विष्टसहित ६ प्रहरी निलम्बनमा छन् ।

प्रहरी प्रधान कार्यालयले घटनामा प्रहरी अधिकारीको भूमिकाको अनुसन्धान र कारवाही सिफारिस गर्न एआइजी धिरु बस्न्यातको नेतृत्वमा छुट्टै समिति गठन गरेको छ । बस्न्यातको टोली अनुसन्धानमा संग्लन सबै प्रहरी अधिकारीलाई काठमाडौं झिकाएर अनुसन्धान गरिरहेको छ ।
-१२ खरीवाट साभार

सम्बन्धित शिर्षकहरु